निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री शर्माको निर्देशन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री शर्माको निर्देशन


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।

‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खालको बनाउनुपर्छ ।’

अर्थमन्त्री शर्माले मूल्य अभिवृद्धिकै आधारमा निर्यात अनुदानको व्यवस्था गरिने पनि बताए ।

‘एक प्रतिशत भ्यालु एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन सक्दैन’ शर्माले भने, ‘त्यो भ्यालु एडिसनकै आधारमा गर्नुपर्छ ।’

मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने पनि बताए ।

‘तपाईँहरूले आफ्नो समस्या बताउनुभएको छ । तीनलाई समाधान गर्ने उपाय राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर निकाल्छौँ,’ शर्माले भने, ‘हाम्रो कुरा चाहिँ निजी क्षेत्रलाई समस्या वा गाह्रो नहोस् भन्ने हो । सकेसम्म तपाईँहरूलाई सहज होस र हामीले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा होस् ।’

छलफलमा बोल्दै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको निर्यातमा नगद अनुदानको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताए ।

जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता करिब ३ खर्बको रहेको भन्दै गोल्छाले त्यसको ५० प्रतिशत मात्र निर्यात गर्न सके पनि मुलुकको व्यापार घाटा धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।

‘बजेटमा उल्लेख भएको व्यवस्थामध्ये निर्यातकर्तालाई सबभन्दा बढी उत्साहित गरेको भनेको निर्यातमा नगद अनुदानले नै हो’, गोल्छाले भने, ‘यी तीन वटा मात्र क्षेत्रको निर्यात सम्भावना तीन सय अर्बको देखिन्छ । यसको ५० प्रतिशत मात्र निर्यात गर्न सक्यौँ भने पनि व्यापार घाटा धेरै हदसम्म कम हुन्छ । यो सम्भावना पनि छ ।’

त्यस्तै उनले जुन मूल्यमा बिजुली भारत निर्यात भइरहेको छ सोही मूल्य बराबरमा मुलुकका उद्योगहरूले पाएमा उत्पादन लागत घटाउन मद्दत पुग्ने समेत बताए । महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले भोग्नु परिरहेको ठुलो समस्या तरलताको रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस