काठमाडौँ । सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलको सहयोगमा नेपालले महिला साफ च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार भएको उद्घाटन खेलमा सहज जितसँगै नेपालले समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ ।
नेपालले दोस्रो खेल २७ भदौमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । अचानक मङ्गलवार साँझ परेको पानीले रङ्गशालामा पानी जमेको थियो ।
भारी वर्षाबिच नै नेपाल र भुटानबिच खेल सुरु भयो । मैदानमा पानी भएका कारण दुवै टोलीका खेलाडीले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । भुटानले नेपालविरुद्ध गोलका लागि निकै प्रयास गर्यो । नेपालले पहिलो हाफमा एक गोल मात्रै गर्यो । दोस्रो हाफमा वर्षा रोकिएसँगै नेपालले लय समात्यो । मध्यान्तरपछि नेपालले थप तीन गोल गर्न सफल भयो ।