उपत्यकालगायत दर्जन जिल्लाका प्रजिअको सरुवा, काठमाडौँमा घनश्याम उपाध्याय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकालगायत दर्जन जिल्लाका प्रजिअको सरुवा, काठमाडौँमा घनश्याम उपाध्याय


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । केही महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरिएको छ । गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवारव्यूरोलाई प्राप्त विवरण अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । ललितपुरमा अभिलेख व्यवस्थापन, सेवा प्रवाहमा सहजीकरण(६० वर्ष भन्दा बढी उमेरकालाई लाइनमा बस्न नपर्ने, ७५ वर्षभन्दा माथिका लागि एक जना सहयोगी व्यवस्थापन) र विकास निर्माणमासमेत खेलेको भूमिकालाई मुल्याकन गर्दै काठमाडौँको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । 

काठमाडौँका प्रजिअ गोविन्द रिजाल प्रदेश जाने भएसँगै केही समयअघि देखि नै सरुवा मागिरहेका थिए । तर स्थानीय निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र गृह प्रशासनको अनुभवी रहेकोले समन्वयमा सहजीकरण गर्न आवश्यक रहेको भन्दै तत्कालका लागि रिजाललाई गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा राखिने भएको छ । 

ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य गएका छन् ।

यसैगरी कास्कीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी खटाइएको छ । 

प्रशासनलाई प्राप्त विवरण अनुसार दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए । बाँकेका सहायक टोपेन्द्र बहादुर के.सी.लाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ ।  

यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको उच्च स्रोतले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस