संसदीय समितिले बोलायो टीआरसी विधेयकमाथि छलफल गर्न संशोधनकर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसदीय समितिले बोलायो टीआरसी विधेयकमाथि छलफल गर्न संशोधनकर्ता


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न संशोधनकर्ताहरूलाई बोलाएको छ ।

समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार बुधबार दिउँसो ३ बजे विधेयकमाथि संशोधन राख्ने सांसदहरुलाई छलफलमा बोलाइएको छ । 

संघीय संसद सचिवालयका अनुसार यो विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसदहरूबाट संशोधन परेको छ । एमालेका सांसदहरूले हत्या, यौनजन्य हिंसा, अपहरण तथा शरीर बन्धक र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरीत गरिएका अमानवीय कार्यलाई मानवअधिकारको गम्भीर उल्लङ्घनमा राख्नुपर्ने भनी संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

सत्य निरूपण तथा बेपत्ता आयोगले सिफारिस गरेअनुसार चल्ने मुद्दा हेर्न बन्ने विशेष अदालतका न्यायाधीशहरू न्याय परिषद्को परामर्शमा नभई न्याय परिषद्को सिफारिसमा हुनुपर्ने पनि एमालेको संशोधन छ ।

नेकपा माओवादी केन्द्रका सांसदहरूको तर्फबाट भने बेपत्ता पारिएको व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके बेपत्ता योद्धा घोषणा गर्नुपर्ने भनी संशोधन परेको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति पोखरेलका अनुसार बिहीबार सरोकारवाला पक्षलाई बोलाएको छ । बिहीबार दिनभर जसो छलफल गरेर पीडित र सरोकारवालापक्षहरुको राय लिने तय भएको उनले जानकारी दिए ।

संशोधनकर्ता र पीडित पक्षको कुरा सुनेपछि समिति आन्तरिक छलफलमा जुट्ने सभापति पोखरेलको भनाइ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस