डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान


२० भाद्र २०७९, सोमबार


काठमाडौँ ।पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।

यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

डेँङ्गो नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएकोे छ ।

कामपाले आजदेखि प्रयोगशाला भएका वडामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण सुरु गर्ने जनएको छ । यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् । उक्त अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको छ । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।

डेँङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ । मान्य जानकारी नहुँदा डेँङ्गु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको प्रमुख त्रिपाठीको भनाइ थियो ।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकासँगै पोखराजस्ता जनघनत्व बढी भएको सहरमा डेँङ्गुका बिरामी बढिरहेका छन् ।

विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेँङ्गुको बिरामी फेला परेको थियो । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेँङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेँङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस