एकै परिवारका तीन जनाको हत्या आरोपित सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकै परिवारका तीन जनाको हत्या आरोपित सार्वजनिक


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । उदयपुरमा एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा गत शुक्रबार एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोही दिन नै घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको थियो ।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना बिहान साढे ११ बजे भएको भएपनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्र घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए । 

पक्राउ परेका हत्या आरोपित बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस