गौरा पर्वले मौलिक संस्कृतिको संरक्षण गरेको छ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गौरा पर्वले मौलिक संस्कृतिको संरक्षण गरेको छ : राष्ट्रपति भण्डारी


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

गौरा पर्व २०७९ का अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

‘गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहित महिला माइत जाने, गहुँ, केराउ, गहतलगायत पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ’, सन्देशमा भनिएको छ, ‘यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषा भाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबिचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस