सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न देउवाको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न देउवाको निर्देशन


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिना निष्कर्ष टुङ्गिएको छ । 

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको गठबन्धन बैठकमा आज पनि कुनै ठोस निर्णय नभएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बताए ।  बैठकमा दलका नेताहरू आ-आफ्नो दाबीबाट तलमाथि नभएपछि सिट बाँडफाँटको टुङ्गो लाग्न नसकेको उनको भनाइ छ ।

नेपाली काँग्रेसले चुनावी तालमेल गर्दा  १०० सिट पाउनुपर्ने दाबी राखेको छ भने माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका छन् । सबै दलले सोही अडान नछाडेपछि बिहीबार ११ बजे पुनः बस्ने गरी बैठक सकिएको छ ।  तर सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिट बाँडफाँटको विषयमा सहमति नजिक पुगेको बताए । 

बिहीबार बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने कार्कीको दाबी छ । सबै मोडालिटी अनुसार सिट बाँडफाँट हुने भन्दै न्यायोचित ढङ्गले निर्णय गरिने कार्कीले बताए ।

यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटमा गठबन्धनभित्र सबै पार्टी लचक हुनुपर्ने बताएका छन् । 

सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन नेताहरूलाई देउवाको निर्देशन थियो । 

देउवाले सिटौला, थापा र कार्कीलाई गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न निर्देशन दिए । गठबन्धनमा रहेका सबैलाई सम्मान हुने गरी सिट मिलाउन देउवाले भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस