विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत 


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना तथा कार्यक्रमका लागि आवश्यक दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

सरकारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका राजपत्राङ्कित अधिकृत तहका ४३१ पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत चिकित्सा शिक्षा आयोग र मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना कार्यक्रम र समितिका लागि राजपत्राङ्कित श्रेणी वा सोसरहका १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाका लागि ५० राजपत्राङ्कित पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरिएको छ ।

सरकारले आफ्नो नेता तथा कार्यकर्ता भर्ती गर्न अस्थायी दरबन्दी सृजना गरिरहेको आरोप खेपिरहेका बेला सरकारका प्रवक्ता कार्कीले भने त्यसको बचाउ गरेका छन् । उनले अस्थायी दरबन्दी स्वीकृत भएकोप्रति आम जनमानसमा भ्रम सृजना गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

अस्थायी दरबन्दीमा आफ्ना मनपरेका व्यक्तिलाई नियुक्ति गर्न नभएर स्थायी नियुक्त कर्मचारीबाटै पदपूर्ति गरिने उनले दाबी गरे ।

प्रवक्ता कार्कीले विगतका वर्षमा पनि यस्तो अभ्यास गर्ने गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस