आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । देशका केही भागमा गए राति देखिनै वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार थप वर्षा हुनेछ ।

मोहना माला खेतीमा जलसतह सतर्कता तह पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरूमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुनसक्ने भएकाले बिहान ८ बजेसम्म सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

बर्दियाको रम्बापुर, रानी जरुवा नर्सरी, धनवासलगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्युठानको केही स्थानमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप हुनसक्ने महाशाखाको भनाइ छ । बबईका सहायक नदीलगायत कान्द्रा, मोहना, रंधुन, चौधरनदीमा आकस्मिक बहाव हुनसक्ने र तटीय क्षेत्रमा ९ बजेसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस