१० दिनमा १४ उद्योग दर्ता, ९ सय जनालाई रोजगार दिइने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

१० दिनमा १४ उद्योग दर्ता, ९ सय जनालाई रोजगार दिइने


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । पछिल्लो १० दिनमा स्वदेशी तथा विदेशी लगानीका १४ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागमा २ भदौदेखि ९ भदौसम्म दर्ता भएका उद्योगमा १० अर्ब ६७ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । यी उद्योगहरूले ९ सय जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।

यो अवधिमा दर्ता भएका दुई वटा ऊर्जामूलक परियोजनामा मात्रै सात अर्ब ५४ करोड ८२ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ भने सूचना तथा सञ्चार प्रविधिमा आधारित एउटा परियोजनामा पाँच करोड लगानीको प्रतिबद्धता छ । यस्तै, उत्पादनमूलक चार वटा उद्योगमार्फत एक अर्ब २८ करोड लगानी हुनेछ भने सेवामूलक एउटा परियोजनामा २० करोड र पर्यटनका ६ वटा परियोजनामा एक अर्ब ६० करोड लगानी गर्ने उद्योग विभागमा प्रस्ताव गरिएको छ ।

२ भदौमा दर्ता भएको टिजी अटो ग्रुपले बाराको जितपुरसिमरा–९ मा ३८ करोड लगानीमा मोटरसाइकल एसेम्बल गर्ने भएको छ । यो उद्योगबाट वार्षिक आठ हजार युनिट मोटरसाइकल एसेम्बल हुनेछन् भने ६७ जनाले रोजगारी पाउनेछन् । यस्तै, गोदावरीमा ५७ लाख लगानीमा जेभी बाइनरी उद्योग खुल्ने भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका २ मा खुल्ने गरी ग्रिन ज्याकपटो इन्टरटेनमेन्ट कम्पनी दर्ता भएको छ, जसमा २० करोड लगानी गर्ने प्रतिबद्धता छ ।

गोर्खाको सहिद लखन गाउँपालिकामा ३७ करोड लगानीमा ४८ कोठाको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा खुल्ने भएको छ । सुनसरीको इटहरी–९ मा ६० करोड लगानीमा ९८ कोठाको ग्रान्ड सेन्ट्रल होटेल खुल्ने भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पाँच अर्ब ३८ करोड लगानीमा ३० मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने गरी ट्रस्ट इनर्जी कम्पनी दर्ता भएको छ ।

काठमाडौँमा ५० करोड लगानी गरेर सूचना प्रविधिमा आधारित मेन्टर फ्रेन्ड्स उद्योग खुल्ने बताइएको छ । रुपन्देहीको विशेष आर्थिक क्षेत्रभित्र ४४ करोड लगानी गरेर आरुङ खोला बहुउद्देश्यीय उद्योग खुल्ने भएको छ । सोलुखुम्बुको सोलु दूध कुण्ड नगरपालिकामा दुई अर्ब १६ करोड लगानीमा ९.४८ मेगावाटको परियोजना निर्माण गर्न नुम्बुर दूध कुण्ड हाइड्रोपावर कम्पनी दर्ता भएको छ । यस्तै, मोरङमा ४५ करोड लगानीमा एमएम प्लास्टिक उद्योग खोल्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस