धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ ।

१ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लास्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार चालु आर्थिक वर्ष २०७९/८० लाई सरसफाइ वर्षका रूपमा मनाउने उद्देश्यले बजार क्षेत्रमा समस्याका रूपमा देखिएको सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तु भएकाले बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको हो ।

अगामी १ असोजदेखि बिक्री वितरणमा रोक लगाइएको बताउँदै श्रेष्ठले उक्त कार्यमा सहयोग गर्न सार्वजनिक सूचना मार्फत नगरवासीमा अपिल समेत गरिएको जनाए ।

उपमहानगरपालिकाले अगामी दिनमा सार्वजनिक क्षेत्र सडक, खोलानाला र नालीमा फोहर नफाल्न तथा सडक पेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न तथा जथाभाबी पशुचौपाया नबाँध्न पनि आग्रह गरेको छ ।

निषेध गरिएको क्षेत्र तथा जथाभाबी खोलानालामा ढल मिसाउनेलाई प्रथम पटकलाई १० हजार रुपैयाँ जरिवाना र दोस्रो पटक संरचना भत्काइने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै अन्य फोहर फाल्नेहरूलाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गरिने उपमहानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस