तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । सोही प्रयोजनका लागि ठेक्का आह्वान गरेको हो । ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाज समेत बढ्दा भिडभाड बढी हुने गरेको छ । पछिल्लो समय तराईमा हवाई यात्रुको चाप समेत बढेको छ ।

प्रवक्ता निरौलाका अनुसार विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब रु ९ अर्ब लगानी हुने प्राधिकरणको अनुमान छ । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । साथै, निर्माणाधीन जुम्ला, तुम्लिङटार र साँफेबगरको काम सकिन लागेको समेत उनले जानकारी दिए । जुम्लाको टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस