अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने


८ भाद्र २०७९, बुधबार


काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रूपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो ।

उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ । कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । 

सुनधारास्थित काठमाडौँ मलको अनधिकृत रूपमा बनाइएको संरचनामा बुधबार डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्थितिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने बुधबार नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ । 

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले अब विगतमा झैँ मनोमानी नचल्ने र सो कार्य नियमित रूपमा चल्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस