१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात समेत २८.६८ प्रतिशतले घटेको छ। 

गत वर्ष पहिलो महिनामा एक खर्ब ५० अर्बको सामान आयात हुँदा यो वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँका सामान भित्रिएको छ। 

गत वर्ष २० अर्ब ७६ करोड बराबरको सामान निर्यात भएकोमा १४ अर्ब ८० करोड रुपैयाँको सामान निर्यात भएको हो। 

आयात घटेसँगै व्यापार घाटामा पनि सुधार भएको छ। यसअघि एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा यसपटक भने एक खर्ब १६ अर्ब व्यापार घाटा भएको छ। 

सबैभन्दा धेरै आयात हुनेमा डिजेल, पेट्रोल, सोयाबिन तेल, एलपी ग्यास, पाम आयल, फलामका अर्ध तयारी वस्तु, भ्याक्सिन लगायत छन्। यी छ किसिमका सामान आयातमा मात्रै ३७ अर्ब रुपैयाँ बिदेसिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोल र डिजेलको मूल्यमा भइरहेको वृद्धिसँगै खपतमा कमी आइरहेको देखिएको छ। 

गत वर्ष चार अर्ब ४१ करोड रुपैयाँ खर्चिएर ५८ हजार पाँच सय ५६ किलोलिटर पेट्रोल आयात हुँदा यसपटक ५४ हजार सात सय चार किलो लिटरलाई ६ अर्ब ३८ करोड रुपैयाँ खर्चिनु परेको छ। 

त्यस्तै, गत वर्ष ६ अर्ब ६४ करोड रुपैयाँ खर्चिएर ९४ हजार एक सय चार किलोलिटर आयात भएको छ। 

चालू वर्षमा भने आठ अर्ब ९८ करोड रुपैयाँ खर्चिएर ६५ हजार एक सय १८ किलोलिटर डिजेल आयात भएको हो। पेट्रोल र डिजेलको आयात खपत अनुसार हुँदै आएको छ। 

कच्चा भटमासको तेलको आयात पनि घटेको छ। गत वर्ष ५ करोड ३१ लाख लिटर कच्चा भटमासको आयात भएकोमा चालू आवमा २ करोड ६० लाख लिटर आयात भएको हो।

गत वर्ष आठ अर्ब ३२ करोड रुपैयाँको कच्चा भटमासको तेलको आयात भएकोमा यस वर्ष ५ अर्ब १८ लाख रुपैयाँको आयात भएको हो। 

भटमासको तेल निर्यातकै लागि बढी प्रयोग भइरहेकोमा यसमा समेत कटौती भएको देखिन्छ। चार करोड केजी भटमासको तेल निर्यात भएकोमा यसपटक मात्रै ५० लाख केजी निर्यात भएको हो। 

विभिन्न देशबाट भटमास र पाम आयल भित्र्याउने र उतै निर्यात गर्ने प्रवृत्ति मौलाएपछि पछिल्लो समय यसमा कडाइ गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस