अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । 

इलामको रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ । 

अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् । एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् । 

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्युँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ । गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् । यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए । उनका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ । 

अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडार सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उनीहरूको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नं १ को इलामसहित पाँचथर तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ । 

नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस