नागरिक लगानी कोषको लाभांश पारित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नागरिक लगानी कोषको लाभांश पारित


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नागरिक लगानी कोषको २७औँ वार्षिक साधारणसभाले गरेको आव ०७७/७८ को मुनाफा ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको साधारणसभाले ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा कोषका अध्यक्ष प्रा.डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा राखेका थिए ।

कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरू, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरू, सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरू एवं पुँजी बजारको विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरबारे उनले जोड दिएका थिए ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै सेयरधनीले राखेको जिज्ञासाको जवाफ दिएका थिए । आव ०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको उनले उल्लेख गरे । उक्त अवधिमा कोषले एक खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको उनको भनाइ थियो ।

साधारणसभाले आव ०७७/७८ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गरेको जनाइएको छ । यससँगै लेखापरीक्षकको प्रतिवेदनसहितको ०७८ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस