४३१ उम्मेदवारलाई स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४३१ उम्मेदवारलाई स्पष्टीकरण


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय ३१ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । वैशाख ३० मा सम्पन्न उक्त चुनावमा ८ सय ७ उम्मेदवारले भाग लिए पनि आधाभन्दा बढीले निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण बुझाएका छैनन् । 

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा पटक-पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले प्रस्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिए । उनीहरूलाई भाद्र ७ सम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

उनका अनुसार अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदुधकुण्ड नगरपालिकाका १ सय १५, थुलुङदुधकोसी गाउँपालिकाका ५१, महाकुलसङ गाउँपालिकाका ५३, लिखुपिके गाउँपालिकाका ५६ र माप्य दुधकोसी गाउँपालिकाका ४३ जना छन् ।

सोताङ गाउँपालिकाका ३५, नेचासल्यान गाउँपालिकाका ४५ र खुम्बुपासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण बुझाएका छैनन् । चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस