मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगमा दर्ता भएको सी-००२७४३ नम्बरको उजुरी अनुसार पौडेलले नगरपालिकाभित्र निर्माणाधीन सड्क, भवन र मन्दिर भवनबाट उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कमिसन लिने गरेको आरोप छ ।

नगरपालिकाको गाडी मर्मत र इन्धन शीर्षकमा पनि उनले नक्कली बिल बनाउने र फर्निचर र स्टेशनरी खरिदमा पनि अनियमितता गरेको उजुरीकर्ताले दाबी गरेका छन् ।

मन्थली माध्यमिक विद्यालयसँग मिलेर पौडेलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट मासिक शुल्कको नाममा रकम असुल गरेर निःशुल्क पढ्न पाउने विद्यार्थीको अधिकार हनन गरेर कमिसन लिने गरेको उजुरीमा उल्लेख छ । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ ।

नगरपालिकाबाट मन्थली माध्यमिक विद्यालयको नाममा वर्षेनी करोडौँ रुपैयाँ विनियोजन गरी बिना टेन्डर विद्यालय व्यवस्थापन समितिबाट खर्च गराएर भवन निर्माणको नाममा लाखौँ रुपैयाँ कमिसन लिने गरेको उजुरकर्ताले दाबी गरेका छन् । त्यस्तै, पटक–पटक एउटै कृषि फार्मको नाममा बजेट विनियोजन गरेर कमिसन लिने गरेको आरोप पौडेलमाथि छ ।

लिलाराज पौडेल २ वर्षदेखि मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा राज्यको ढुकुटीलाई दुरुपयोग गरी गैरकानूनी रूपमा अकुत सम्पत्ति कमाइएको भन्दै उजुरीकर्ताले सम्पत्ति शुद्धीकरण गर्न माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कमिसन लिएको र अनियमितता गरेको बारे अख्तियारले सोधेमा जवाफ दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस