माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् ।

यसअघि उनीहरूले भदौ १ र २ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए । हिजो केन्द्रको मूल गेटमा तालाबन्दी समेत गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले माग सुनुवाइ गर्न नचाहेको उनीहरूको गुनासो छ ।

बिहीबार बसेको परिषद्को बैठकले आज र भोलिका लागि लागि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरेको थियो । विद्यालय कर्मचारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने लगायतमा विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारी सहायक लेखापाल० को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया नपुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग राखेका छन् ।

संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् । सेवा प्रवेशका लागि ४० वर्षे उमेर हद कार्यरत कर्मचारीको हकमा एक पटकका लागि नलाग्ने प्रबन्ध गर्नुपर्ने माग उनीहरूका छन् ।

त्यस्तै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स(सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ । विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक(पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग परिषद्ले अघि सारेको छ ।

नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिए पनि विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यतिबेला उनीहरू पूर्ण सेवा सुविधाको ग्यारेन्टीसहित माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै लागि देशभरबाट ३ हजार भन्दा बढी विद्यालय कर्मचारी काठमाडौँ आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस