ऊर्जामन्त्रीको आक्रोश : महिनौँ बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ऊर्जामन्त्रीको आक्रोश : महिनौँ बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रतिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् ।

प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिकरण पछि हटेको छ ।

बुधबार भएको प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् ।

उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिइन् । 

उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो ।

४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको उनले जानकारी दिइन् ।

प्राधिकरणका कर्मचारीको कार्यशैली प्रति पनि उनले रोष प्रकट गरिन् । उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौँ लगाएको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।

उनले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराइन् ।

उनले कर्मचारीको वृत्ति विकासमा पनि ध्यान गएको छ भन्दै दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउन प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस