मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ ।

गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

जिल्लाका सबै पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकतासम्बन्धी माग गरिएपछि यहाँका बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए । हाल अस्पतालमा ७ जना एमबिबिएस डाक्टर, एक डेन्डिस्ट, अन्य स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारी, सहायकस्तरका कर्मचारी, कार्यालय सहयोगी तथा स्विपरलगायत ८५ जना कर्मचारी कार्यरत छन् ।

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस, सुत्केरी महिलाका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस