अनेरास्ववियुले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनेरास्ववियुले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा काँग्रेसनिकट नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षरसहितको ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो ।

नेविसंघले पाँच ठाउँमा लगाएको तालाबन्दीविरुद्ध दुई दिन हस्ताक्षर संकलन गरी मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेवि संघले त्रिवि केन्द्रीय कार्यालयदेखि डिन कार्यालयसम्म पाँच ठाउँमा ताला लगाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले बुझाएको हस्ताक्षरसहितको ज्ञापनपत्रमा दलगत रूपमा, राज्यसत्ताको आडमा विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुष्चक्रमा फसाउने र सार्वजनिक विश्वविद्यालयmाई विघटन गर्ने हर्कत मौलाउँदै गएको आरोप लगाएको छ । तालाबन्दीको संस्कृति सदाका लागि अन्त्य हुनुपर्ने माग राखेको छ । ‘आफ्नै भ्रातृ संगठनले महिनौँदेखि सरकारी निकायमा तालाबन्दी गर्नेजस्तो अपराधलाई दण्डित गर्नुको सट्टा झन् प्रोत्साहन गर्नु खेदजनक छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

नेवि संघले परीक्षामा लापरबाही भएको, नियुक्तिमा कार्यविधिविपरीत काम गरेकोजस्ता आरोप लगाएको छ । नेवि संघले २७ असारमा त्रिवि रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

मानविकी र व्यवस्थापन डिन कार्यालयमा परीक्षामा लापरबाही भएको र कारबाहीको माग गरी तालाबन्दी गरेको हो । कृषि अध्ययन संस्थान डिन कार्यालय कीर्तिपुरमा केही दिनअघि ताला लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस