फिर्ता नपठाउने सर्तमा दैनिक १५ लाख रुपैयाँसम्म विदेशी मुद्रा भित्र्याउन पाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिर्ता नपठाउने सर्तमा दैनिक १५ लाख रुपैयाँसम्म विदेशी मुद्रा भित्र्याउन पाइने


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दैनिक विप्रेषण आप्रवाहको सीमा बढाएको छ । कुनै व्यक्ति वा फर्मले विभिन्न शुल्क, चार्ज वा रेमिट्यान्सको रूपमा विदेशबाट नेपालीको खातामा वा कुनै फर्म वा कम्पनीको नाममा पैसा पठाउँदा दैनिक १५ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरेको हो । तर, यस्तो आप्रवाह फिर्ता गर्न नपाइने बैङ्कले जनाएको छ ।

विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र-२०७८ जारी गर्दै बैङ्कले नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/ शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशी (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख रुपैयाँसम्म एकै पटक वा पटक-पटक गरी ल्याउन सकिने बताएको छ । 

यस्तो व्यवस्था यसअघि दैनिक १० लाख रुपैयाँसम्म मात्र भित्र्याउन पाइने व्यवस्था रहेको थियो । तर, यसरी भित्र्याइने विप्रेषणको उल्लेखित ढाँचामा मासिक रूपमा कारोबारको तथ्याङ्क राखी बैङ्कको सम्बन्धित विभागमा पेस गर्नुपर्ने बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस