काठमाडौँको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘काठमाडौँ उपत्यकामा जम्मा भएको फोहोर उठाउन सरकारले पूर्णरुपमा ध्यान दिनु पर्ने र मातहतका निकायलाई परिचालन गर्न तथा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई सुझाव दिने निर्णय भएको छ ।’

बैठकमा मूल्यवृद्धिले उपभोक्ता चर्को मारमा परेको भन्दै त्यसको अनुगमन र नियन्त्रणमा पनि सरकार लाग्नुपर्ने विषयमा छलफल भएको महासचिव भुसालले बताए ।

काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि सडकमा फोहोर थुप्रिएको छ । लामो समयसम्म फोहोर सडक हुँदा शहरमा दुर्गन्ध फैलिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस