भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो। 

२०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो।

प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। स्थानीय सिरिसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करिब डेढ किलोमिटरमाथि भेडेटारमा खानेपानी ल्याइएको हो। 

लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक एक लाख लिटरका तिन वटा ट्याङ्कीमा जम्मा गरी अन्य ५० हजार लिटरका दुई र १२ हजार लिटरका तीन वटा ट्याङ्कीमार्फत वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए। अब आयोजनाको सुरक्षाको जिम्मा स्थानीयको भएको उनले जनाए। 

आयोजना सम्पन्न नहुँदा भेडेटारमा दैनिक आउने दुई हजार पर्यटकलाई पाल्ने होटेलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। यस्तै आयोजनामार्फत साँगुरीगढी गाउँपालिका ६ भेडेटारका १ ४७ घरधुरीले लाभान्वित हुने भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस