बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो । 

वडाध्यक्ष अर्जुनबहादुर साउदका अनुसार नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ । नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए ।

नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उनको भनाइ रहेको छ । महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो । 

यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ । 

यसैबीच,  बेदकोट नगरपालिका-४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरूले सो गाउँ जोगाउनका लागि प्लास्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन् । 

साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियो । तीव्र रूपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । 

सम्भावित जोखिमलाई मध्यनजर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लास्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानीय राजुराम भुलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस