दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द


१३ श्रावण २०७९, शुक्रबार


मङ्गलबारे । इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ ।

करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्।

इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्दै आएकामा बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ ।

वषौँदेखी निर्माण सुरु भएको विमानस्थल केही समय उडान भएर पुनः बन्द हुँदा यस विमानस्थलको भविष्य नै अन्धकारमा पर्ने हो कि भन्ने चिन्ता छाएको इलामबासीले बताउँदै आएका छन् । स्थानीयवासी बालकुमार पोख्रेलले उडान बन्द भएपछि अब उडान हुन्छ या हुँदैन भन्ने नै अनिश्चित् भएको बताए ।

यस विमानस्थलमा तारा एयरको विमानले उडान गर्दै आएको थियो । इलाम नगरपालिका र तारा एयरबीच सम्झौता भएर उडान सुरु गरिएको यस विमानस्थलमा सम्झौताको म्याद सकिएपछि उडान बन्द गरिएको हो ।

गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको र त्यस पछि सम्झौताको समयसमेत सकिएको थियो । स्थानीयवासीले उडान नियमित गराउनुपर्ने भन्दै विरोध र खबरदारी गर्दै आएका छन् ।

नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराउन जिल्लाका सङ्घीय र प्रदेश सरकारले चासो राख्नुपर्ने बताउँदै आएका छन् । यस विषयमा नगरपालिकाले पनि चासो दिएको र पहल गरिरहेको नगरप्रमुख केदार थापाले बताए । उनले यस विषयमा माथिल्लो निकायसँग पहल भइरहेको बताए ।

इलामबाट नियमित उडान हुनसके पूर्वी पहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिडलगायत छेत्रका बासिन्दालाई सहज हुने थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस