वाग्मती प्रदेश : प्रदेशसभामा सचेतक र एक मन्त्रीबाहेक काँग्रेसका सबै अनुपस्थित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाग्मती प्रदेश : प्रदेशसभामा सचेतक र एक मन्त्रीबाहेक काँग्रेसका सबै अनुपस्थित


५ श्रावण २०७९, बिहिबार


मकवानपुर । मुख्यमन्त्री परिवर्तन हुनुपर्ने माग गर्दै आएका वाग्मतीका नेपाली काँग्रेसका सांसद तथा मन्त्रीहरू आज (बिहीबार)को प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।

सत्ता सञ्चालनमा भएको सहमति मुख्यमन्त्री राजेन्द्र पाण्डेले इमान्दारीपूर्वक पालना गर्नुपर्ने भन्दै प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बोलाइएको बैठकमा काँग्रेसका सांसद तथा मन्त्री अनुपस्थित भएका हुन् ।

काँग्रेस सचेतक छिरिङ दोर्जे लामा र भौतिक पूर्वाधारविकासमन्त्री कृष्णलाल भडेलको मात्र उपस्थिति थियो ।

काँग्रेस सांसद तथा मन्त्रीहरुले मुख्यमन्त्री पाण्डेलाई कार्यकाल आधा-आधा सञ्चालन गर्ने विषयमा भएको सहमति पालना गर्न दबाब दिन सदनमा अनुपस्थित भएको एक नेताले दाबी गरे ।

‘प्रदेश सरकारको नेतृत्वको विषयमा आधा-आधा कार्यकाल सम्हाल्ने सहमति भएको हो । सहमतिअनुसार अब चुनावी सरकारको नेतृत्व गर्ने पालो हाम्रो हो,’ काँग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने ।

उनले सत्ता गठबन्धन बलियो बनाउन र आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन पनि लिखितरुपमा भएको सत्ता सञ्चालनसम्बन्धी सहमति इमान्दारीपूर्वक पालना हुनुपर्ने बताए ।

‘संसदीय दलको आधिकारिक निर्णयबाट हामी सदनमा अनुपस्थित भएका होइनौँ । काँग्रेस सांसद र मन्त्रीहरू सहमति पालना गर्नुपर्छ भन्ने पक्षमा छौँ । त्यसैले सदनमा अनुपस्थित भएका हौँ’, उनले भने । प्रदेशसभामा काँग्रेसका २२ जना सांसद रहेका छन् । सरकारमा काँग्रेसका ५ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै काँग्रेस र माओवादीका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका थिए । पाण्डेले सहजै मुख्यमन्त्रीको पद नछाडेपछि काँग्रेस र माओवादी सरकार परिवर्तनका प्रयास गरे पनि केन्द्रले बेवास्ता गरेपछि पछि हट्न बाध्य भएका थिए ।

गठबन्धनको पूर्व सहमति चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस