छड पनि भारत निर्यात हुन थाल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छड पनि भारत निर्यात हुन थाल्यो


४ श्रावण २०७९, बुधबार


भैरहवा । स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ ।

परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले आज (बुधबार)बाट भारतमा टीएमटी छड निर्यात थालेको छ ।

जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो ।

उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो ।

बुधबार उद्योगमा कार्यक्रम आयोजना गरेर निर्यात सुरुवात गरिएको थियो । मुलुकबाट भारतमा टीएमटी फलामे छड निर्यात गर्नेमा सो उद्योग पहिलो बनेको छ ।

सिमेन्ट उद्योगमा भने पाल्पा इन्डस्ट्रीले तानसेन ब्रान्डको सिमेन्ट निर्यात थालेको छ ।

श्री स्टिल उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले चालु बजेटमा छड निर्यात गर्ने उद्योगलाई सहुलियत दिने घोषणा गरेपछि बुधबार एउटा ट्रकमा ३५ टन फलामे छड पठाइएको बताए ।

‘चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएको छ,’ उनले भने, ‘त्यसपछि हामीले निर्यात सुरु गरेका हौँ ।’

निर्यातलाई निरन्तरता दिन कार्यविधि बनाएर सरकारले सहुलियतको निर्णय छिटो कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा सञ्चालित श्री स्टील्सले विगत पाँच वर्षदेखि छड उत्पादन गर्दै आएको छ ।

उद्योगका कार्यकारी निर्देशक सोमेस अग्रवालले छड निकासीपछि देशमा विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत पुग्ने बताए ।

‘यसले मुलुकको व्यापार घाटा कम गर्न टेवा पुर्‍याउने हाम्रो विश्वास छ’, उनले भने, ‘सरकारी नीति कार्यान्वयन भएमा गुणस्तर कायम राख्दै उत्पादन र निर्यातमा बढवा दिन्छौँ ।’

बजेटमा गरिएको ८ प्रतिशत सहुलियतको घोषणा छिटो कार्यविधि बनाएर लागू गर्न सरकारलाई उनले आग्रह गरे ।

भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि सरकारी नीति कार्यान्वयन जरुरी रहेको उद्योगीले बताएका छन् ।

‘हामीले कच्चापदार्थ भारतबाटै ल्याएर यहाँ प्रशोधन गरी छड बनाएर भारत निकासी गर्नुपर्ने हुन्छ, यसका लागि सरकारले साथ दिएन भने निर्यात सम्भव हुँदैन’, सञ्चालक अग्रवालले भने ।

प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल उत्पादन गर्दै आएको छ ।

उद्योगले केही समय अघिबाट आफ्नै अत्याधुनिक प्लान्ट मार्फत स्पन्ज तथा स्क्राब आइरनबाट बिलेट समेत उत्पादन गर्दै आएको अग्रवालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस