भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन ।

भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व सङ्कलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको हो ।

यसअनुसार लक्ष्यको ९०.९४ प्रतिशत राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७-०७८ मा ९९ अर्ब ६५ करोड राजस्व लक्ष्य तोकिएकोमा एक खर्ब १२ अर्ब ५४ करोड सङ्कलन भएको थियो । जुन लक्ष्यभन्दा १२ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैङ्कले गत पुस ५ गते बिलासिताका सामान आयात गर्दा शतप्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्रबैंकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै प्रतित-पत्र (लेटर अफ क्रेडिट) जारी गरेपछि भारतबाट आयात हुने विलासिताका वस्तुहरू ह्वात्तै घटेका थिए । जसले गर्दा पनि यसपटक राजस्व लक्ष्य भेटाउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।

राष्ट्र बैंकको परिपत्रमा २० प्रकारका बस्तुहरू आयात गर्दा अनिवार्य रूपमा मार्जिन लिई प्रतितपत्रमार्फत् मात्र आयात गर्ने व्यवस्था मिलाउन निर्देशन थियो । भारत लगायत तेस्रो मुलुकबाट बिलासिताका सामान बढी आयात भएको र विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यस्तो व्यवस्था गरिएको हो ।

भैरहवा भन्सार हुँदै आयात हुने सामाग्री घटेको हो भने राजस्व असुलीसमेत प्रभावित भएको हो । भन्सार कार्यालयका अनुसार आव ०७८-०७९ मा सबैभन्दा बढी राजश्व जिप, कार र भ्यानबाट सङ्कलन भएको छ ।

जिप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजश्व सङ्कलन भएको पासवानले जानकारी दिए । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट ५ अर्ब ७४ करोड ८८ लाख ६० हजार, एम.एस. विलेटबाट ४ अर्ब ४० करोड ५ लाख ९३ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, पेट्रोलबाट ४ अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट ३ अर्ब ४९ करोड ८ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट २ अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट २ अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी मोबाइलबाट एक अर्ब ४१ करोड ८७ लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा करिब १ सय ५० भन्दा बढी प्रकारका वस्तुहरू आयात भएको छ ।

यस्तै रुपन्देहीको बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात अधिक बढेको छ । स्वदेशी उत्पादन नहुँदा बर्सेनि बढिरहेको आयात-निर्यातबीचको अन्तर बढिरहेको छ । गत आर्थिक वर्ष २०७८-२०७९ मा बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात ४० गुणा बढी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस