सौराहाको पर्यटन पुरानै लयमा फर्कन्छ भन्नेमा आशावादी छौँ : भट्टराई « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

सौराहाको पर्यटन पुरानै लयमा फर्कन्छ भन्नेमा आशावादी छौँ : भट्टराई


२३ असार २०७९, बिहिबार


चितवन । कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ । कोरोनाको सङ्क्रमण घटे पनि सोचे अनुसार पर्यटन क्षेत्रले लय लिन सकिरहेको छैन । कोरोनाको असरका कारण सौराहामा पनि पर्यटकको आगमन न्यून छ । सौराहामा आउने पर्यटकको सङ्ख्या सन्तोषजनक नरहेको क्षेत्रीय होटेल सङ्घ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । साढे दुई वर्ष थला परेको पर्यटन उद्योगका २५ प्रतिशत कर्मचारीहरू पनि पलायन भएका छन् ।

सौराहामा पर्यटनको अवस्था, पर्यटक भित्राउन भएका पहल र पुरानै लयमा फर्काउन कसको भूमिका के होला भन्ने विषयमा क्षेत्रीय होटेल सङ्घ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईसँग प्रशासन डटकमले गरेको कुराकानी ।

कोरोना महामारीपछि सौराहामा पर्यटकको चहलपहल कस्तो छ?
कोरोना महामारीले चितवनको मात्रै होइन नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो । करिब दुई वर्ष हामीले होटलहरु तालाबन्दी गरेर बस्नु पर्ने अवस्था आयो । र विगत ४/५ महिनादेखि बिस्तारै होटलहरु सञ्चालन गर्दै आएका छौँ ।

बन्द भएका होटलहरु सञ्चालन गर्न धेरै रकमहरू खर्च भयो । सामाग्रीहरू पनि बिग्रिएका थिए । यसमा फेरि लगानी गर्नु प¥यो । अहिले सौराहाका होटलहरु पूर्णरुपमा सञ्चालनमा छन् । अहिले विदेशी पर्यटक खासै देखिएका छैनन् । अहिले भारतीय र आन्तरिक पर्यटकहरू नै अहिले आइरहेका छन् । अबका दिनहरूमा पर्यटकको आगमन बढ्ने छ । हामी आशावादी छौँ । आन्तरिक पर्यटकले पनि हाम्रो व्यवसाय टिकाउने छ ।

अपेक्षा अनुसार पर्यटक नआउनुको कारण के होला ?
हो हामीले सोचे अनुसार पर्यटक आएका छैनन् । सायद स्थानीय तहको चुनावको पनि असर होला । अहिले बर्खाको समयले पनि होला । तर, पनि पर्यटक भित्राउन हामीले प्रयास भने जारी राखेका छौँ ।

पर्यटक भित्राउन के गरिरहनु भएको छ ?
गत वर्ष लकडाउन हटेपछि घुमौँ चितवन अभियान सञ्चालन गरेका थियौँ । यो अभियान प्रदेश १ र मधेस प्रदेशमा लिएर गयौँ । कोरोना सङ्क्रमण बढेपछि यो रोकिएको थियो । अब फेरि बाँकी ५ प्रदेशमा प्रचारप्रसारका यो अभियान लिएर जाँदै छौँ । हाम्रो अभियानमा सौराहामा हेर्न पाइने गतिविधिकै बारेमा प्रचारप्रसार गरिरहेका छौँ । हामीले सौराहाबारे वृत्तचित्र बनाएर देखाउने गरेका छौँ ।

हामीले वाइल्ड लाइफ बेसमा पर्यटक भित्राउने भएका कारण होला अन्य स्थानमा भन्दा हाम्रोमा तुलनात्मक रूपमा पर्यटक आएको पायौँ । दुई प्रदेशमा हाम्रो अभियान सञ्चालन भएको कारण होला त्यहाँबाट अहिले पनि पर्यटक आइरहेका छन् ।

पर्यटकका लागि के कस्ता सहुलियतहरू प्रदान गरेका छौँ ?
हामीले सौराहामा रहेका होटेलको स्तर हेरेर ३० देखि ४० प्रतिशतसम्म छुट दिने अभियान सञ्चालन गरिरहेका छौँ । कोभिडका बेला सुरु भएको यो अभियान अहिले पनि जारी छ ।

सेवा सुविधा पनि बढाएका छौँ । जस्तो कि विगतको भन्दा सस्तो प्याकेज प्रदान गरेका छौँ । यो प्याकेज केही महिना निरन्तर रहन्छ । किन कि जबसम्म सहज अवस्था बन्दैन तबसम्म यो जारी राख्ने हो ।

कोरोनाका कारण कर्मचारी पलायन भए ? अहिले जनशक्ति पर्याप्त छ ?
कोरोना महामारी सुरु भएको २/३ महिना हामीले कर्मचारीलाई पालेर राखेको अवस्था थियो । बिचमा महामारी लम्बिँदै गएपछि आपसी समझदारीमा केही रकम दिएर बिदा गर्नु पर्ने अवस्था आयो । बिदा पनि ग¥यौँ । समझदारीमा कर्मचारीहरू घरमै बसे हामीले पनि होटेल बन्द गर्‍यौँ  ।

पछि महामारी कम हुँदै गर्दा २५ प्रतिशत कर्मचारीलाई बोलाएर होटेल तथा रिसोर्टहरु सञ्चालन गर्‍यौँ  । बिस्तारै हाम्रा पहिलेका कर्मचारीहरूलाई बोलायौँ । तर, विडम्बना के भयो भने हाम्रा दक्ष कर्मचारीहरूले यो पेसा नै छोडेर पलायन हुन भएछ । केहीले अन्य पेसा अङ्गाल्नु भएको छ । करिब २५ प्रतिशत कर्मचारीले आफ्नै पेसा व्यवसाय सुरु गरेको पायौँ ।

यसले होटेल क्षेत्रमा कर्मचारीको अभाव भयो । यो अभावलाई पूर्ति गर्न बिचमा हामीले तालिमहरू सञ्चालन गरेर कर्मचारीहरू तयार गरेका छौँ । विद्यालयहरूमा पनि हामीले जनशक्ति तयार गर्ने गरी समन्वय गरेका छौँ ।

बिचमा दक्ष कर्मचारी नभएर समस्या नै परेको थियो । तर, अहिले यो बिस्तारै परिपूर्ति हुँदै छ ।

पर्यटन व्यवसाय पुरानै लयमा फर्काउन कसको भूमिका के हुनु पर्छ ?
हामीले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग पहल गरिरहेका छौँ । चितवनको मात्रै होइन देशभर नै पर्यटन क्षेत्र पुरानै लयमा कसरी फर्काउन सकिन्छ भनेर छलफल गरिरहेका छौँ । प्याकेज दिएर हुन्छ कि छुट दिएर हुन्छ कि हामी यसबारे योजना बनाइरहेका छौँ ।

सरकारको तर्फबाट दिने छुट तथा अनुदान लगायत पूर्वाधार विकासका विषय प्रभावकारी बनाएर पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि प्रयास गरिरहेका छौँ । पर्यटन पुरानै लयमा फर्कन्छ भन्नेमा हामी आशावादी छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस