निगमले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निगमले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्यो


२१ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम ३० अर्ब पुगेको छ ।

असार २४ गतेसम्म तेल आयात हुँदा आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्ने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो दिन निगमले केही रकम भुक्तानी गर्नेछ ।

निगमले आईओसीलाई रकम भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैङ्कबाट ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाइरहेको छ ।

टेकुको जग्गा धितो राखेर निगमले बैङ्कबाट ३ अर्ब रुपैयाँ ऋण लिन लागेको हो । लागत मूल्यअनुसार इन्धनको मूल्य समायोजन हुन नसक्नु, सरकारले उपभोक्ताका लागि कर घटाए पनि निगमले भन्सारमा अघिल्लो दरकै कर तिर्नुजस्ता कारणले निगमलाई नोक्सानी बढ्दो छ ।

हाल पेट्रोलमा करसहित प्रतिलिटर लागत २११ रुपैयाँ ११ पैसा रहेको तर बजारमा १८१ रुपैयाँमा बिक्री गरिएको निगमले जनाएको छ । निगमका अनुसार करसहित डिजेलको लागत प्रतिलिटर २१० रुपैयाँ ६१ पैसा छ भने बजारमा १७२ रुपैयाँमा बिक्री गरिएको छ ।

मट्टितेलको लागत प्रतिलिटर १६८ रुपैयाँ ९७ पैसा, हवाई इन्धनको (आन्तरिक) १७६ रुपैयाँ १७ पैसा र ग्यास प्रतिसिलिन्डर लागत २३७१ रुपैयाँ ७८ पैसा रहेको निगमले स्पष्ट पारेको छ ।

गत राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस