‘ऋण खोज्नु नपर्दा पनि राहतको सास फेरेकी छु’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘ऋण खोज्नु नपर्दा पनि राहतको सास फेरेकी छु’


२० असार २०७९, सोमबार


सिराहा । भगवानपुर गाउँपालिका– ५ की राधा कुमारी सदायलाई यो वर्ष घर खर्च चलाउनकै लागि ऋण खोज्नु परेन । ऋण खोज्न नपर्दा उनले राहतको सास फेरिकी छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सदायलाई हातमुख जोर्नकै लागि ऋण खोज्ने र ऋण तिर्ने कुराले सधैँ सताइ रहन्थ्यो ।

विगत दुई वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भए बापत आउने ज्यालाले आर्थिक अवस्थामा केही सुधार भएको उनको भनाइ छ । डोमरा नदिको कुलो तथा पैनी मर्मतमा उनी सहभागी भएकी हुन् । यो योजनाले उनलाई आर्थिक रूपमा सहयोग गरेको छ भने स्थानीयलाई पनि प्रत्यक्ष रूपले फाइदा पुगेको छ । पैनी मर्मतपछि बस्तीमा पानी छिरेको छैन भने हिलो पनि कम भएको छ । जसका कारण घरहरू ढल्नबाट जोगिएका छन् ।

बेरसपति सदाय भन्छन्, ‘पैनी मर्मत हुनु अघि बस्तीमा वर्षातको पानी छिर्थ्यो, हिलो हुँदा घरहरूमा बाँसको लाठीले सर्पोट लगाउनु पर्थ्यो, अरूको घरमा गएर बस्नु पर्थ्यो, बाल बच्चाहरूलाई सम्हाल्न कठिन हुन्थ्यो । तर, यस पटक त्यस्तो छैन ।’ प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएर उनले आफ्नो घर मात्रै जोगाएका छैनन्, दाल, चामल र बच्चाहरू र आफ्नो लागि लुगाफाटो पनि किनेका छन् ।

डुबानको सास्ती हट्यो
भगवानपुर गाउँपालिकाको ८० प्रतिशत भूभाग कृषि योग्य छ । तर, सिँचाइ अभाव र वर्षामा हुने डुबानले उत्पादन सोचे अनुसार हुँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आव २०७७/७८ को योजना अनुसार डोमरा नदिको कुलो तथा पैनी मर्मत कार्य सम्पन्न भएपछि डुबान र सिँचाइको समस्या हटेको छ । यस योजनाबाट ६ जना बेरोजगार पनि लाभान्वित भएका छन् । यो योजनामा दलित समुदायका श्रमिकहरूलाई रोजगारी उपलब्ध भएको थियो ।

गाउँपालिकाको वडा नं. ५ मा पर्ने ईनरवादेखि पश्चिम र लालापुरदेखि पूर्वमा पर्ने पुरानो पैनी मर्मत भएपछि लालपुर गाउँमा डुबानको समस्या हटेको छ । करिब २ सय घर डुब्नबाट जोगिएका छन् । पैनी मर्मतपछि डुबानले बाटो बन्द हुने, विद्युत् आपूर्ति बन्द हुने, फुसका घर भत्किने समस्या हटेको वडाध्यक्ष अमरलाल यादवले बताए ।

सहकार्यले थप प्रभावकारी हुन्छ
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भगवानपुर गाउँपालिकामा वृक्षारोपण, बाटिका निर्माण, पोखरी मर्मत, कच्ची नाला निर्माण, कुलो तथा बाँध मर्मत, सडक मर्मत, मन्दिर सरसफाइ, पैनी मर्मत लगायतका काम भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहबिच सहकार्य गरेर योजना सम्पन्न गर्न सके थप प्रभावकारी हुने देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र नगर पालिकाबिच कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग छलफल गरेर अगाडी बढ्ने सोचमा रहेको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले बताए । नहर र पैनी मर्मत सँगै कृषि सडकलाई पनि प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उनको भनाइ छ ।

गाउँपालिकाको योजना र प्रधानमन्त्री रोजगारबाट पारिश्रमिक प्रदान गर्ने गरी सहकार्यको योजना बनाएर कार्य गर्नु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डलले बताए । ‘गाउँपालिकाबाट पारित भएका योजनामा जनश्रमदान बाहिरबाट नलिएर प्रधानमन्त्री रोजगारबाट लिने हो गाउँपालिकाको बजेट पनि बच्ने र रोजगार पनि सिर्जना हुने गर्छ ।’ उनले भने, ‘यसका लागि सहकार्य गरेर अघि बढ्ने योजना छ ।’

कम्तीमा ६ महिना काम पाए हुन्थ्यो
भगवानपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगारका लागि बेरोजगारको सूचिमा १ हजार ९४ जना सूचिकृत भएका छन् । जसमध्ये ४ सय २१ जनाले रोजगारी पाएका गाउँपालिकाका रोजगार संयोजक डम्बर नारायण महतोले जानकारी दिए ।

अन्य स्थानीय तहमा सूचिकृत हुने बेरोजगारको सङ्ख्या बढ्दा क्रममा रहे पनि भगवान्पुरमा भने घट्दो क्रममा छ । आव २०७६/७७ मा ५ सय २० जना, आव २०७७/७८ मा ३ सय ७४ र आव २०७८/७९ मा घटेर २ सय जना सूचिकृत भएका छन् । स्थानीय तहका जनप्रतिनिधिले कम चासो दिएका कारण सूचिकृत हुने बेरोजगारको सङ्ख्या वर्षे नि घटेको रोजगार संयोजक महतोले बताए ।

सूचिकृत हुनेको सङ्ख्या घटे पनि सूचिकृत बेरोजगारले भने कम्तीमा ६ महिनासम्म रोजगारीको अपेक्षा गरेका छन् । राधा कुमारी सदायले भनिन्, ‘कार्यक्रम राम्रो छ । प्रत्येक वर्ष कम्तीमा छ महिना रोजगारी पाए राम्रो हुन्थ्यो ।’ अर्का श्रमिक बेरसपति सदाय भन्छन्, ‘प्रत्येक वर्ष काम पाए भारत जानुपर्ने थिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस