महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता


२० असार २०७९, सोमबार


दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो ।

चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ ।

‘महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको छ, सबै पालिकामा पुगेर भत्ता वितरण गर्छौँ’, उनले भने । कार्यालयले शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले रु तीन लाख ३० हजार वितरण गरिसकेको छ ।

कार्यालयका अनुसार बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

उनीहरुले गाउँ–गाउँ, टोल–टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष लक्ष्मी सिग्देलले काम गरेबापत सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा हौसला बढेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस