प्रहरी भर्नामा लागु भयो नयाँ नियम, लिखित परीक्षापछि रिक्त हुने पदबराबर भर्ना गर्ने तयारी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरी भर्नामा लागु भयो नयाँ नियम, लिखित परीक्षापछि रिक्त हुने पदबराबर भर्ना गर्ने तयारी 


२० असार २०७९, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति रिक्त हुन्थ्यो, त्यति मात्र भर्ना गर्ने गरिएको थियो । 

भर्ना प्रक्रियामै करिब एक वर्ष लाग्ने र त्यो अवधिमा हजारौँ पद रिक्त हुने समस्या समाधानका लागि नेपाल प्रहरीले लोकसेवा आयोगसँगको सहमतिमा यससम्बन्धी प्रावधान हेरफेर गरेको हो । जसअनुसार प्रहरी सहायक निरीक्षक (असई) र जवान पदको भर्नामा माग संख्या आइतबार सूचना प्रकाशन गरी थप गरेको थियो । 

गत वर्ष २२ असोजमा खुलाइएको असई भर्नामा तीन सय ६७ जना माग गरिएको थियो । हाल लिखित परीक्षाको नतिजा प्रकाशनको तयारी भइरहेको छ । नतिजा प्रकाशनअघि ७६ पद रिक्त भएकाले त्यसलाई समेत जोडेर चार सय ४३ जना भर्ना गर्न लागिएको छ । 

त्यस्तै, १० मंसिरमा खुलाइएको जवानको भर्नामा एक हजार नौ सय ७१ माग गरिएकोमा पाँच सय तीन पद थपेर दुई हजार चार सय ७४ पद पुर्‍याइएको छ । अबदेखि हरेक पदको भर्नामा लिखित परीक्षापछि रिक्त हुने सबै पदमा भर्ना लिइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । यसले प्रहरीमा अब ठूलो संख्यामा दरबन्दी रिक्त हुने समस्या समाधान हुने उनको भनाइ छ । 

७९ हजार पाँच सय ४१ दरबन्दी रहेकोमा नेपाल प्रहरीमा सधैँजसो करिब १० हजार पद रिक्त हुने गरेको छ । वर्षमा एकपटक मात्र भर्ना हुने र भर्नाको अवधिमा थप ठूलो संख्यामा थप पद रिक्त हुने गरेको छ । सङ्गठनले यो समस्याका कारण जनशक्ति अभावको समस्या झेल्दै आएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस