प्रदेश १ का दुई पालिकामा अझै सडक पुगेन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ का दुई पालिकामा अझै सडक पुगेन


२० असार २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७९ अनुसार प्रदेश १ सरकारले हालसम्म २७७ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

प्रदेश सरकार अस्तित्वमा आउनुअघि ५६९ किलोमिटर मात्रै कालोपत्रे सडक रहेकोमा २७७ किलोमिटर कालोपत्रे थप गर्दै प्रदेशमा हाल ८४६ किलोमिटर कालोपत्रे सडक रहेको जनाइएको छ ।

यस्तै प्रदेश सरकारले ६६३ किलोमिटर सडक मर्मत, एक हजार ३२९ किलोमिटर ग्राभेल, ५ हजार ४६८ किलोमिटर कच्ची र ४ दशमलव १७७ किलोमिटर सडक आरसीसी / पिसिसि गरेको छ । सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेश सरकार अन्तर्गत हालसम्म ३७ वटा मोटरेबल पुल र ९५ वटा झोलुङ्गे पुल निर्माण भएको छ ।

झण्डै २ सय किलोमिटर सडकको ट्र्याक ओपन गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश १ मा हालसम्म ९ हजार ६९५ किलोमिटर सडक धुलो/कच्ची, २ हजार ५८८ किलोमिटर ग्राभेल र ८४६ किलोमिटर कालोपत्रे गरी १३ हजार १२९ किलोमिटर सडकमा सवारी साधन कुद्ने गर्छन् । यसमध्ये ६ हजार ७७९ किलोमिटर सडक स्थानीय तहको अधीनमा छन् । प्रदेश १ मा राष्ट्रिय राजमार्ग जम्मा एक हजार २०५ दशमलव ३१ किलोमिटर छ ।

प्रदेश १ सरकारले ६३ वटा बहुवर्षे सडक आयोजना निर्माण गरिरहेको छ । यी सबै सडक निर्माण भए ७८० किलोमिटर सडक बन्नेछन् । जसमा १६ वटा सडक फाइनल ग्राभेल हुनेछ भने अन्य ४७ वटा सडक कालोपत्रे हुने सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाईंले जानकारी दिए ।

४७ वटामध्ये पनि ३ वटा सडक यही आर्थिक वर्षमा निर्माण सकिँदैछ । जसमा भोजपुरको सदरमुकामबाट एयरपोर्टसम्म जाने सडक, झापाको सुखानीबाट दानाबारी जाने सडक तथा मोरङको शनिश्चरे बजारबाट कुशेचौरी-मंगलबारे–सोमबारे सडक छन् ।

तर प्रतिवेदन अनुसार प्रदेश १ का १३७ पालिकामध्ये २ वटा पालिकामा अझै सडक सञ्जाल पुगेको छैन । हालसम्म सडक सञ्जाल नजोडिएका पालिकामा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र सङ्खुवासभाको सिलिचोङ गाउँपालिका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस