पर्यटनलाई प्राथमिकता राख्दै विकासको गतिमा लम्किँदै छ इलाम नगरपालिका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटनलाई प्राथमिकता राख्दै विकासको गतिमा लम्किँदै छ इलाम नगरपालिका


१७ असार २०७९, शुक्रबार


इलाम । इलाम भन्ने बित्तिकै धेरैलाई मन्त्रमुग्ध बनाउँछ । सुन्दर पर्यटकीय क्षेत्र इलाम नपुग्ने सायदै कमै होलान् । समशीतोष्ण हावापानी, पहाडी भू–भाग, महाभारत पर्वत शृङ्खलामा अवस्थित इलाम नगरपालिका इलाम जिल्लाको सदरमुकाममा अवस्थित पालिका हो । वि.सं. १८७५ मा इलाम गौडाको मुख्यालयको रूपमा स्थापना भई विक्रम संवत् २०१५ सालमा नेपाल सरकारले इलाम नगरपालिकाको घोषणा गरेको थियो ।

राज्य पुनर्संरचना हुनुअघि २७ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको नगरपालिकामा ९ वटा वडाहरू रहेका थिए । विक्रम संवत् २०७३ मा भएको पुनसंरचनापछि नगरको क्षेत्रफल १७२ दशमलव ६५ किलोमिटर भएको छ । र वडाको सङ्ख्या पनि १२ पुगेको छ । करिब १२५ एकड जमिन ओगटेको नेपालको सबैभन्दा पुरानो चिया बगान समेत रहेकाले चियाको उद्गमस्थलको रूपमा समेत परिचित रहेको छ । 

पुरानो नगरपालिका भए पनि इलाम नगरपालिकाको विकासको गति २०७४ को स्थानीय तहको निर्वाचनपछि नै भएको देखिन्छ । संविधान जारी भएर सम्पन्न भएको स्थानीय तहको निर्वाचन र जनप्रतिनिधि आइसकेपछि विकासको गतिमा इलाम अघि बढेको छ ।

भौतिक पूर्वाधारतर्फ इलाम नगरपालिकाले पहिलो कार्यकालमा उल्लेख्य प्रगति हासिल गरेको छ । पहिलो कार्यकालमा साढे चार तलाको मुख्य प्रशासनिक भवन निर्माण भएर सञ्चालनमा आएको प्रशासकीय अधिकृत रामकुमार साह बताउँछन् ।

‘हामीले पहिलो कार्यकालको अवधिमा भौतिक संरचना निर्माणको काम सकेका छौँ । नगरको भवनदेखि वडा कार्यालयका भवनहरू र स्वास्थ्य चौकी भवन पनि निर्माण भएका छन्,’उनले भने,‘त्यसका साथै नगर क्षेत्रका सामुदायिक विद्यालयका जीर्ण भवनको पुनः निर्माण र कतिपय नयाँ भवन बनाइएका छन् ।’

देशका कतिपय स्थानीय तहले पहिलो कार्यकालमा भवनसमेत निर्माण गर्न नसकेर भाँडाकै घरमा बस्नु परे पनि इलामले भने यसमा ठुलो प्रगति हासिल गरेको छ । नगरपालिकाका सबै वडाको काम आफ्नै सुविधा सम्पन्न भवनबाट भइरहेको छ ।

भौतिक पूर्वाधार मात्र नभई इलाम नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा चुस्त पारदर्शी, छिटो र छरितो माध्यमबाट प्रवाह गर्नका लागि राजश्व असुली तथा लेखा प्रणाली, नक्सा पास लगायतका सेवालाई सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको साह बताउँछन् ।

नगरका १२ वटै वडाको सेवा प्रवाह लगायतका कामको अनुगमन गर्नका लागि सिसिटिभीको जडान गरी मुख्य भवनबाट नै निरीक्षण गर्ने व्यवस्थाका साथै प्रत्येक वडामा इन्ट्रानेटको सुविधा तथा इ–हाजिरीको व्यवस्था गरिएको छ । 

नगरपालिका कार्यालयमा सेवाग्राहीको सुविधाका लागि नागरिक हेल्प डेस्क स्थापना गरिएको छ भने सेवाग्राही विश्राम स्थल तथा इलेकट्रोनिक नागरिक बडापत्रको व्यवस्था गरिएको छ । 

जनशक्तिको उचित व्यवस्थापन

अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव अहिले पनि यथावत् नै छ । मुलुक सङ्घीय संरचनामा गएर तीन वटै तहका सरकार निर्माण भए पनि कर्मचारीको अभावको समस्या अधिकांशले भोग्दै आएका छन् । तर, इलाम नगरपालिकाले भने कर्मचारी जनशक्तिको उचित व्यवस्थापन गरेको छ । नगरपालिकासँगै सम्पूर्ण वडामा आवश्यक कर्मचारी जनशक्तिको व्यवस्थापन गरिएको छ । इलाम नगरपालिका इलामको सङ्गठनात्मक संरचना सर्भे सम्पन्न गरी सो प्रतिवेदनको आधारमा ५ वटा महाशाखा तथा महाशाखा अन्तरगतका शाखाहरू स्थापना गरिएका छन् । त्यसका लागि नगरपालिकाले २५१ जना कर्मचारी सङ्ख्या भएको दरबन्दी कायम गरेर सोही अनुसार काम गर्दै आइरहेको छ । 

त्यति मात्रै होइन, नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा सहितका कामलाई पारदर्शी र चुस्त दुरुस्त राख्नका लागि पनि त्यसै अनुसार काम भएको छ । नगरको सूचनामा आम नागरिकको पहुँचका लागि मोबाइल एप्स, वेब साइट तथा सामाजिक सञ्जालको प्रयोगका साथै नगर बुलेटिन प्रकाशनको काम गर्दै आइरहेको छ । त्यति मात्रै होइन नगरपालिकासम्म सोझै आएर सूचनाको पहुँच लिन नसक्ने आम नागरिकको समस्यालाई ध्यानमा राखेर नगरपालिकाले स्थानीय सामुदायिक रेडियोबाट साप्ताहिक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइएको छ । जसका माध्यमबाट जनताले सूचना पाउन सहज भएको नगरपालिकाको भनाई छ ।

७९ वटा कानुन निर्माण

२०७४ मा नयाँ जनप्रतिनिधि आइसकेपछि नगरपालिकाले पहिलो कार्यकालको अवधिभित्रमा ७९ वटा विभिन्न कानुन निर्माण गरेको छ । इलाम नगरपालिकाको कार्यलाई प्रभावकारी बनाउनका लागि नगर सभा सदस्य रहेको संसदीय समिति, विषयगत समिति गठन गरेर कार्यान्वयनमा रहेको छ । जस अन्तर्गत अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति, सामाजिक समिति, सुशासन तथा स्थानीय सेवा समिति, कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, सामाजिक विकास समिति निर्माण गरिएका छन् । लगानी प्रोत्साहन नीति, घरेलु उद्योग प्रवर्द्धन नीति पनि बनाएर कार्यान्वयन गरिरहेको छ । 

सडक कालोपत्रे देखि नयाँ ट्याक खोलिए

इलाम पर्यटकीय क्षेत्र भएकाले धेरै जसो आन्तरिक र बाह्य पर्यटकको आवागमन भइरहेको हुन्छ। सडक यातायात महत्त्वपूर्ण पाटो भएकाले नगरपालिकाले सडकको नयाँ ट्याक खोल्ने देखि सडकको स्तरोन्नति काम गरेको छ । अहिले पनि धमाधम सडक कालोपत्रे गर्ने देखि निर्माणको काम जारी छ । नगर क्षेत्रभित्र ढल व्यवस्थापनका लागि नालीको उचित व्यवस्थापन लगायतको काम पनि भइरहेको छ । त्यस्तै नयाँ पिच सडकहरू निर्माण भएका छन् । ‘विभिन्न वडामा जाने बाटो निर्माण गरेर ती सडक कालोपत्रे गर्ने काम गरिएको छ,’प्रशासकीय अधिकृत साह भन्छन्,‘कतिपय स्थानमा नयाँ ट्याक खोल्ने र ग्राभेल निर्माणको काम भएको छ ।’

मुख्यमन्त्री पार्किङ भवन जसले इलामको ट्राफिक व्यवस्थापन सहज बनाउने छ

सदरमुकाममा रहेको नगरपालिका भएकाले त्यहाँ अन्य क्षेत्र भन्दा सवारी यातायातको चाप बढी हुन्छ । जसले गर्दा पार्किङको समस्या बढ्ने गर्छ । त्यसलाई ध्यानमा राखेर बसपार्कमा रहेको जग्गामा नगरपालिकाले मुख्यमन्त्री पार्किङ बहुतले भवन निर्माणको काम अघि बढाएको छ । प्रशासकीय अधिकृत साह अबको ९÷१० महिनाभित्रमा उक्त भवन निर्माण भइसक्ने बताउँछन् । 

मोटरसाइकल र कार लगायतका सवारी साधन पार्किङ गर्न सहज होस भनेर यो भवन निर्माणको काम भइरहेको छ । यसले सदरमुकाम क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गराउने नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले वडा नम्बर ७ मा व्यापारिक भवनका रूपमा इलाम सिटी मार्ट निर्माण गरेर सञ्चालन गरेको छ । यो मार्ट व्यापारिक प्रयोजनका लागि निर्माण भएको हो । यहाँ विभिन्न व्यवसाय गर्ने मानिसहरूलाई आफ्नो व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न मद्दत पुगेको छ । जसबाट नगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ । त्यस्तै नगरपालिकाले वडा नम्बर ७ मा नै व्यवस्थित ११ वटा सटर भएको मासु पसल तथा अन्य सटरको निर्माण कार्य सम्पन्न गरिएको छ। त्यस्तै वडा नम्बर ९ मा कम्पोस्ट प्लान्ट चमेना गृहको निर्माण भएको छ । 

विभिन्न वडाहरूमा खेल मैदान निर्माण भएका छन् भने कतिपय वडाहरूमा खेल मैदानको निर्माणको काम चलिरहेको छ । त्यस्तै इलाम नगरपालिका वडा नम्बर ५ मा प्रदेश नम्बर १ कै ठुलो तथा सुविधा सम्पन्न चार वटा कोर्ट भएको कवर्ड हल निर्माणका लागि प्रत्येक आर्थिक वर्षमा नगरबाट बजेट विनियोजन गर्नका साथै सङ्घ र प्रदेश सरकारबाट बजेट विनियोजनका लागि पहल गरी निर्माण सम्पन्न भइसकेको छ । 

कृषिको व्यवसायीकरण गर्न, कृषि व्यवसायको प्रवर्धन एवम् व्यवस्थापन गर्न कृषक एवम् कृषि व्यवसायीबिच आपसी सम्बन्ध सुदृढ गर्ने तथा कृषि करारको माध्यमबाट उत्पादन बढाउन र बजारीकरणद्वारा व्यावसायिक तथा औद्योगीकरण गर्दै समग्र कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७४ को निर्माण गरी सोही आधारमा नगरको समग्र कृषि क्षेत्रमा विभिन्न कार्यक्रम गरेको छ । त्यस अन्तर्गत कृषकलाई कृर्षि औजार वितरण, अनुदान देखि मल बिउ विजन लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

पर्यटन क्षेत्रको विकासका लागि पनि पर्यटन प्रवर्द्धन समिति इलाम सञ्चालन निर्देशिका, २०७४ को निर्माण गरिएको छ। त्यसअन्तर्गत पाटेनागी पर्यटकीय क्षेत्र, भालुढुङ्गा पर्यटकीय क्षेत्र, रक क्ल्याइम्विङ्ग, सुकिलुम्वा पार्क, दिदीबहिनी झरना, सेतीदेवी धार्मिक पर्यटकीय क्षेत्र, मूर्ति डाँडा पार्क तथा असले झरनाको निर्माण गरिएको छ। नगर क्षेत्रका विभिन्न वडामा चिया श्रमिक देखि लिएर राष्ट्रिय विभूति लगायतका मूर्तिहरू निर्माण गरिएका छन् । 

शैक्षिक क्षेत्रमा पनि उल्लेख्य सुधार

शैक्षिक क्षेत्रमा पनि इलाम नगरपालिकाको समग्र शैक्षिक क्षेत्रको विकास र सम्बृद्धिका लागि शिक्षा ऐन तथा नियमावलीको निर्माण गरिएको छ। नगर क्षेत्रभित्र रहेका ५२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको व्यक्तिगत बैङ्क खातामा तलब भत्ता निकासा हुने गरेको छ। लेखा परीक्षकको छनौट तथा नियुक्ति गरी कार्य गराइएको छ । विद्यालयको शैक्षिक कार्यक्रममा एकरूपता ल्याउनका लागि २०७६ सालबाट शैक्षिक पात्रो प्रकाशन गरिएको छ ।

स्थानीय पाठ्यक्रम तयार गरिएको छ । कक्षा ६ देखि ८ सम्मको लागि स्थानीय विषय पर्यटनको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नगर क्षेत्रका सबै विद्यालयहरूमा लागू गरिएको र नगरपालिकाबाट सो निःशुल्क वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्मको लागि स्थानीय विषयको पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक सत्र २०७८ देखि पठनपाठन हुने गरी इलाम नगरपालिकामा स्नातक तहको कृषि क्याम्पस स्थापनाका लागि कार्य सुरु गरिएको छ । 

सदरमुकाममै डायलासिस सेवा

स्वास्थ्य क्षेत्रतर्फ इलाम नगरपालिका १११ जना महिला स्वास्थ्य स्वयम सेविकालाई मासिक एक हजार प्रोत्साहन भत्ता व्यवस्था साथै उनीहरूलाई वार्षिक स्वास्थ्य बिमामा ५० प्रतिशत इलाम नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ । सुत्केरी सुविधा अन्तरगत तीन हजार, र यातायात खर्च बापतको एक हजार गरी चार हजार व्यवस्था गरिएको छ। अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रभित्र रहेका कडा रोगीहरूलाई प्रतिव्यक्ति दश हजारका दरले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । अन्य विभिन्न स्वास्थ्य सेवा पनि प्रदान गराउँदै आएको छ। जिल्ला अस्पतालको सेवा प्रवाह सुधार तथा क्षमता अभिवृद्धिका लागि विशेषज्ञ चिकित्सकलाई मासिक १५ हजार र चिकित्सकलाई मासिक ५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । डायलासिस सेवा उपलब्ध गराउन रोटरी क्लब धरानको सहकार्यमा नपाले १५ लाख लगानीमा ३ वटा डायलासिस मेसिन जडान गरिएको छ । 

अन्य विकास निर्माण पनि प्रभावकारी

इलाम नगरपालिकाले अन्य क्षेत्रको विकास निर्माणको कामलाई पनि त्यतिकै प्राथमिकता दिएर काम गरेको देखिन्छ । खानेपानी सेवा शुल्क सङ्कलन तथा राजश्व बुझाउनका लागि डिजिटल प्रविधिको प्रयोग गरी रिडिङ तथा ई सेवा मार्फत शुल्क बुझाउने व्यवस्था गरिएको छ । विभिन्न क्षमताका खानेपानी ट्याङ्की स्थापना गरिएका छन्। साबिक इलाम नगरपालिका क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि एसियाली विकास बैैंकसँगको ऋण तथा अनुदानमा ८५ करोड लागतमा इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजना निर्माण अन्तिम चरणमा छ । इलाम नगरपालिकामा सार्वजनिक निजी साझेदारीमा नगरपालिका क्षेत्रको फोहोर मैला व्यवस्थापन भइरहेको छ । कुहिने र नकुहिने फोहोर अलग अलग उठाउने गरिएको छ । वडा नम्बर १० जौवारी देखि वडा नम्बर १ रक्से सम्मको मेची राजमार्ग क्षेत्रमा फोहोर सङ्कलनको व्यवस्था गरिएको छ । वडा नम्बर ९ खाल्डेमा पोहोर मैलाको अन्तिम विसर्जनका लागि ल्याण्डफिल साइटको निर्माण भइरहेको छ । विपद् व्यवस्थापन, सामाजिक क्षेत्र लगायतका क्षेत्रमा पनि उल्लेख्निय काम भएका छन् । 

इलाम नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलाई प्रवर्द्धन गर्न २०७५ सालमा काठमाडौँमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको थियो। इलाम नगरपालिकाले २० वर्षे दूर दृष्टिका आधारमा काम गर्दै आइरहेको छ । पर्यटन, कृर्षि, पशु तथा पन्छी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, भवन निर्माण खानेपानी, ढल हवाई सेवा, विद्युत्, सञ्चार जनसङ्ख्या बसोबास तथा सहरी विकास, वन तथा वातावरण, उद्योग व्यवसाय, विपद् व्यवस्थापन, खेलकुद, धर्म संस्कृति, साहित्य, सङ्गीत कला र सामाजिक विकासको क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन गरेर उपमहानगरका रूपमा अघि बढाउने योजना तयार पारिएको छ । 

नयाँ नेतृत्व आएपछिको सम्पन्न पहिलो नगरसभाले पनि इलाम नगरपालिकाको पर्यटन, कृषि क्षेत्रलाई प्राथमिकता राख्ने निर्णय गरेको छ । असार १० गते सम्पन्न भएको पहिलो नगरसभाले पर्यटन, कृषि, शिक्षामा लगानी बढाउने लगायतका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको प्रशासकीय अधिकृत साहले जानकारी दिए। ‘वडा वडामा पर्यटकीय क्षेत्रको सुधार लगायतका कामले निरन्तरता पाउने छन्,’उनले भने,‘स्थानीय तह निर्वाचन २०७९ बाट नयाँ जनप्रतिनिधि आउनुभएको छ । पहिलो नगरसभाले पर्यटन र कृषिलाई प्राथमिकता, शिक्षामा लगानी बढाउने, सामुदायिक विद्यालयको सुधार गर्ने नीति पारित गरेको छ ।’ उनले इलाम सदरमुकाम क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नका लागि जग्गा खरिद गर्ने लगायतका कार्यक्रम पारित भएको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस