वर्षैभरि काम पाए भोकै बस्नु पर्ने थिएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षैभरि काम पाए भोकै बस्नु पर्ने थिएन


१७ असार २०७९, शुक्रबार


सप्तरी । ‘अर्काको जग्गा गरेर घर धानेको छु । १४ वर्षको छोरा बित्यो, जेठी छोरीको बिहे गरिदिएँ, तर ऊ अहिले मसँगै माइतमा छ । जे परे पनि सहनु पर्दो रहेछ, तीन छोरीहरूको लालन पालनको जिम्मा म एक्लैले गरेकी छु,’ आफ्नो दुःखका दिन सम्झँदै कञ्चनरुप नगरपालिका–५ की अम्बिका कुमारी मण्डलले भनिन्, ‘समस्या छ, धेरै दुःख छ मलाई ।

मण्डललाई बस्नका लागि नगरपालिकाले घर दिएको छ । बस्नका लागि घर भए पनि साँझ बिहान के खाने चिन्ताले उनलाई सधैँ सताइ रहन्छ । ‘बेलाबेला विदेश जान्छु भन्ने सोच मनमा आउँछ, तर आफन्तको विदेश नजा भन्ने सल्लाहले रोकी राखेको छ,’ मण्डलले भनिन्, ‘अहिले नहर मर्मत, बाटो बनाउने काम पाएको छु । अरू काम पनि छ भने मलाई दिए हुन्थ्यो ।’ यस्तै काम वर्षभरि पाएमा भोकै बस्नु पर्ने थिएन उनको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएबापत उनले एक सय दिनको रोजगारी पाएकी छिन् । त्यसबाटै पाएको ज्यालाले उनले घर खर्च चलाउने गरेकी छन् ।

रोजगारीसँगै सिँचाइ
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ५ मा पर्ने शिवप्रसाद गुप्ताको मीलदेखि पथरीसम्मको कुलो (नहर) मर्मत गरिएको हो । नहर मर्मत गरे बापत मण्डलका घर खर्च चलेको हो ।

रातो किताबमै परेको यो नहर मर्मतका लागि ७ महिला र २ पुरुष गरी ९ जनाले रोजगारी पाएका थिए । रोजगारी पाउनेमा अर्का हुन् कञ्चनपुर–५ का मिस्रीलाल सरदार । १३ वर्षको उमेरमा बाबु गुमाएका सरदारको काँधमा पनि परिवार पाल्ने जिम्मेवारी छ । नहर मर्मतबाट घर खर्च जुटेको उनी सुनाउँछन् । ‘नहर मर्मतमा सहभागी भएपछि मैले ज्याला पाए भने अन्य स्थानीय नहरमा पानी आउने भएपछि खुसी छन् ।’ उनले भने, ‘सिप सिक्न पाए राम्रो हुन्थ्यो । सिप भएपछि अरू काम पनि पाइन्थ्यो कि ?’

यो योजनामा एकातर्फ विपन्न बेरोजगारले रोजगारी पाएका छन् भने अर्कोतर्फ नहर मर्मतले सिचाइको सुविधा हुने भएको छ ।

कञ्चनरुप नगरपालिका– ५ का वडा अध्यक्ष कैलाश कुमार शाहका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय स्तरका विकास निर्माणका काम सम्पन्न गर्न सहज भएको छ । ‘विपन्न परिवारको सहरा बनेको यो कार्यक्रम राम्रो छ ।’ उनले भने, ‘तर, कार्यक्रममा सहभागी हुने इच्छा धेरैको छ । बजेट र मापदण्डका कारण सबैलाई समेट्न सकिरहेका छैनौँ । सबैलाई समेट्न सके अझ राम्रो हुने थियो ।’

कञ्चनरुप नगरपालिकाको कार्यालयदेखि उत्तर पूर्वस्थित वडा नं. ५ मा चन्द्र नहरको शाखा नहरको करिब ८ सय मिटर लम्बाई र दुई मिटर चौडाइ रहेको छ । यो नहर मर्मत पछि वडा नं. १, २, ४, ५, ६ र ७ का खेतमा सिँचाइ हुने छ । नहरबाट करिब ५ सय कृषक लाभान्वित छन् ।

बान्द्रा खोलामा आएको बाढीले नहरको डिल कटान गरी क्षति पु¥याएमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यसको मर्मत गरिएको छ । स्थानीय तह र प्रधानमन्त्री रोजगार कार्यक्रमको सहकार्यमा नहर मर्मत भएको हो ।

नगरपालिकामा पूर्वाधार निर्माण, बाटो तथा नहर मर्मत तथा निर्माणमा यो कार्यक्रमले सहयोग गरेको कञ्चनरुप नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक रुपेश कुमार रायले बताए । उनका अनुसार स्थानीय तहसँगको सहकार्यमा भएका काम थप प्रभावकारी देखिएका छन् । काम गर्दै गर्दा कुनै समस्या आएमा श्रमिकले प्राविधिकसँग सहयोग लिने गरेका उनले सुनाए । विकास निर्माणमा स्थानीयको सहभागिताले उनीहरूको अपनत्व बढ्ने भएकाले काम पनि राम्रो हुने गरेको छ ।

बेरोजगारको सङ्ख्या बढ्दो, सहकार्य आवश्यक
कञ्चनरुप नगरपालिकामा वर्षेनी बेरोजगारको सङ्ख्या बढ्दो छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा २ हजार ६ सय ७४ जना बेरोजगार सूचिकृत भएका छन् । आव २०७७/७८ देखि २०७९/८० सम्म सूचिकृत बेरोजगारको तथ्याङ्क अनुसार वर्षेनी बेरोजगारको सङ्ख्या बढ्दै गएको हो । आव २०७७/७८ मा ३ सय ४ जना बेरोजगारको सूचिमा सूचिकृत भएका थिए भने आव २०७८/७९ मा बढेर १ हजार १ पुगेको थियो ।

यसैगरी आव २०७९/८० मा १ हजार ३ सय ६९ जना बेरोजगार सूचिकृत भएका छन् । सूचिकृत भएका मध्ये २०७७/७८ मा ९६ र २०७८/७९ मा २ सय ११ जनाले रोजगारी पाएको कञ्चनरुप नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पुनम कुमारी चौधरीले जानकारी दिइन् । उनका अनुसार सूचिकृत सबैले रोजगारीको अपेक्षा गर्ने गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं. १ मा पर्ने नालाको पुलको दुवैतर्फ माटो पुर्ने, वडा नं. ३ मा पोखरी मर्मत सम्भार, वडा नं. ५ मा नवीन कुमार सिंहको घरदेखि पथरीसम्मको बाटो मर्मत, वडा नं. १० मा रा.प्रा.वि. भोडाहामा रंगरोगन, वडा नं. ११ मा हाटबजार लगाउनका लागि पोखरी मर्मत सम्भार, वडा नं. ८ मा विभिन्न बाटो मर्मत लगायतका काम भएका छन् ।

नगरपालिका भित्र सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि राम्रो भएकोले यस कार्यक्रमसँग नगरपालिका सहकार्य गरेर अगाडी बढ्ने योजनामा रहेको प्रमुख ललन प्रसाद गुप्ताले बताए । ‘विपन्न परिवारका लागि यो कार्यक्रम वरदान साबित भएको छ । नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने योजना बनाएको छ ।’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस