असारको पन्ध्र « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

असारको पन्ध्र


१५ असार २०७९, बुधबार


सुसाईरहेको हेवा खोलाको मास्तिर उकालो बाटोको दाहिने पट्टि चौकट मिलेको वर्गाकार आँगन भएको, घरको बाहिर पट्टि सानो सिकुवा, ढुङ्गाको गाह्रो र खरको छानो भएको सबै मानिसहरुकोको मन लोभ्याउन सफल स्वर्गको प्रतिविम्व झैँ लाग्ने घर गाउँभरिकै कहलिएका किसान छेउघरे बाजेको घर हो । घरको सिकुवा देखि गह्रा चुहिएको,पानी सुकेको, बन्यजन्तुले प्रवेश गरेको नियाल्न सकिने मानोमुरि उब्जने खेत बाजेको दैनिकि कटाउने माध्यम तथा जिविकोपार्जनको आधार पनि  हो । छेउघरे बाजेको उमेर सत्तरीको दशकमा चलिरहेको छ खेतमा काम गर्न नसकेपनि खेतालालाई अह्राईखटाई गर्न दिनमा एकपटक खेतमा पुग्नुहुन्छ । धान रोपिसकेपछी पानि मिलाउनु, पानि चुहिने ठाउ टाल्नु अनि सामा उम्रिन नपाउँदै उखेल्नु बाजेको दैनिकि नै हो ।

पाँचदिन लागाएर आफ्नो खेत रोपाईँ गर्नुहुन्छ, रोपाईँ उहाँ, उहाँको परिवार र सिङ्गो गाउँको लागि नै एक उत्सव हो। रोपाईँको समय पाँच दिन छेउघरे बाजेको खेतमा मेला लाग्छ, दैनिक पाँचहल गोरु, अठार जना बाउसे र पच्चिस जना रोपाहारहरु हुन्छन्, बाजेको खेतमा बाजेको यो रोपाईँ एक दैनिक कृषि कार्य मात्र नभएर सिँङ्गो गाउँको एक उत्सव हो, सबै भेला भएर मनाउने पर्व हो, रमाईलो भेटघाट हुने  मेला हो,  सुख दु:ख आदान प्रदान गर्ने चौतारी हो, भर्खर मेलापात गर्ने उमेर पुगेका युवायुवतीहरुका लागि काम सिक्ने पाठशाला हो, काममा पोख्त युवायुवतीहरुका लागिआत्मियता साट्ने अदृष्य सञ्चारको माध्यम हो ।

छेऊघरे बाजेको रोपाईँ  केही युवायुवतीहरुको लागिचिनजान तथा परिचयको माध्यम बनि सकेको छ भने केही अधवैँशेहरुका लागि पुर्व आत्मितयहरुसँग साक्षात्कार गर्ने अवसर समेत भएको छ ।  काममा आ-आफ्नै समुह हुन्छ, हलिहरुको एक समुह हुन्छ, बाउसे हरुको एक समुह हुन्छ, रोपाहार हरुको अर्को समुह हुन्छ, खाजा, चिया, खानाको व्यवस्था गर्ने भान्सेहरुको समुह हुन्छ, बिउ उखेल्ने बा-आमाहरुको समुह हुन्छ, बिउको व्यवस्थापन गर्नेहरुको अर्को समुह हुन्छ,गोरुलाई गाँस काट्नेहरुको समुह हुन्छ । सबै आ-आफ्नो समुहमा संगठित छन यो एकताको नमुना उदाहरण समेत हो ।

सदाका वर्षहरुझैँ यो वर्ष पनि असारे चटारोले छेउघरे बाजेलाई छोइसकेको छ । बाँझो जोत्ने काम सकेर आली अँचिलाको काम धमाधम भइरहेको थियो । घाम पिश्चिम तिर ढल्किसकेपछी बाजे खेतबाट घर मात्र आईपुग्नु भएको थियो घर नजिकै एउटा मोटरसाईकल रोकियो, वडा कार्यालयबाट वडा अध्यक्ष र कृषि विकाश शाखाका कृषि प्राविधिक हुनुहुँदो रहेछ सामान्य गफगाफपछी उहाँहरुले यसपाली गाउँपालिकाले असार १५ गते धान दिवस मनाउने योजना बनाएको र त्यसकालागि बाजेको खेत उपयुक्त देखिएकाले धान दिवस मनाउन खेत उपलब्ध गराई सहयोग गरिदिन आग्रह गर्नुभयो ।आफ्नो खेतमा विशाल धान दिवस मनाउने कार्यक्रम एक कृषकको लागित्यो भन्दा ठुलो अवसर के होला, हुँदैन भनौँ धान दिवस मानउने विशेष अवसर, हुन्छ भनौँ असार १५ गते सम्म धान रोप्नकालागिढिला हुने आफ्नो बार्षिक जीविकोपार्जनको स्रोत, समयमा बाली लगाउन नपाउनु एक कृषकको लागित्यो भन्दा दु:खको कुरा के नै  होला र ? बाजे बढो दोधारमा पर्नुभयो । खेति केही ढिलो हुने भएता पनि एक कृषककालागिठुलो अवसर सोचेर हुन्छ भन्ने अनुमति प्रदान गरी उहाँहरुलाई  बिदा गर्नुभयो ।

बाजेको पाँचदिन रोपाईँ  हुने बेँसि एकैदिन रोपाईँ हुने भयो । गाउँभरिका मानिसहरुको जमघट हुने खेतमा पालिका भरिका मानिसहरुको जमघट हुने भयो यो कुरा समग्र गाउँकैलागिखुसिको कुरा थियो । स्थानीय तहका कृषि विशेषज्ञ प्राविधिक सहित रोपाईँ हुने कुराले बाजेलाई हर्षित नै तुल्यायो, आफ्नो परम्पतागत खेती प्राणालीलाई आधुनिक, वैज्ञानिक खेति प्रणालीमा रुपान्तरण गर्न यो धान दिवस कोशे ढुङ्गा सावित हुने कुरामा सिङ्गो गाउँ नै विश्वस्त थियो । कामको वाँडफाँड भयो खेत हिल्याउने, आलि लगाउने र बिऊको व्यवस्थापन गर्ने जिम्मा बाजेको भयो भने अन्य सम्पुर्ण स्थानीय सरकारले व्यहोर्ने यो कुराले झनै बाजेलाई प्रत्यक्ष सरकारको अनुभुति मात्र भएन यसपालिको रोपाईँ खर्च समेत बचत भई थप राहत समेत मिल्ने भयो ।

बाजेको खेतको सिरानमा पारी गाउँ जाने मोटरबाटो छ हिउँदमा धुलो र बर्खामा हिलोको समस्याले कुनै पनि मौसम सवारी साधनमा त्यो बाटोबाट यात्रा गर्न सहज र उपयुक्त भने छैन तर पारी गाउँका बासिन्दाका लागिअर्को सहज र राम्रो मोटरबाटो पनि छैन तर यसपालि भने धान दिवस मनाइने भएकाले भर्खरै मात्र स्थानीय सरकारले मोटरबाटो सरसफाई गरेर सहज बनाएको छ यो पनि स्थानीयकालागिखुसिको कुरा रहेको छ । मोटर बाटो मर्मत हुने बुझेपछि पारी गाउँका मानिसहरु सधैँ धान दिवस छेउघरे बाजेकै बेँसिमा मनाउनु पर्ने कुरा बाजेलाई भनिरहेकाछन ।

कामको बाँडफाँड अनुसार सबै खेत हिल्याउने र आली लागाउने काम सकियो, बिऊ उखेल्ने कार्यको जिम्मा  बाजेको रहेकाले सोही अनुसार असार १४ गते बिऊ उखेल्ने जनशक्ति लिएर बाजे खेत तिर लाग्नुभयो । घाम मध्यान्न तिर पुगिसकेको थियो समय खेतालाहरुले खाजा खाने भएको थियो । सबै जना खेतको सिरानमा रहेको केटरोमा खाजाखान भेला भएका थिए । खेतको सिरानको मोटरबाटोमा एउटा मोटरसाईकल रोकियो, दुई जना अधबैँसे युवाहरु सर्ट, पाइन्ट, जुत्ता लगाएर खेत तर्फ प्रवेश गर्नुभयो । भर्खर हिल्याएर आलि लगाएको खेत टेक्ने ओभानो ठाउँ कतैपनि थिएन, बाजेले ति युवकहरु को होलान लख काट्न सक्नुभएन ।

खेतको आली आली हिन्दै बिउ उखेल्दै गरेको ठाउँमा पुग्नुभयो, बिउका मुठाहरु नियाल्नु भयो र खुरुखुरु दश मुठा जति बिउ खेतको गह्राबाट उचालेर आलीमा राख्नुभयो । बाजे मोटरसाईकल रोकिएदेखि नै नियाली राख्नुभएको थियो । भर्खर हिल्याएर आली लगाएको खेतको आलीमा हिन्दा बाजेलाई आफ्नै छातीमा टेकेर हिँडेको अनुभुती भयो । बिउका मुठाहरु नियाल्दा बाजेले खाजा खाँदै सम्झनुभयो पक्नै पनि बिउको गुणस्तर र शुद्धता परीक्षणमा आउनुभएको कृषि प्राविधिक हुनुपर्छ । जो भएपनि भर्खरै लगाएको आली नटेकेको भए राम्रो हुनेथियो, ठिकै छ जुत्ता फुकाल्न अल्छि लाग्योहोला मनमनै सोच्नुभयो । खाजा खाईसकेर बाजे धानको ब्याडमा पुग्नुभयो ति युवकहरु गाउँपालिका देखि नै आएका रहेछन तर आउनुको कारण बाजेले सोचेको भन्दा अलिक फरक रहेछ ।

उनीहरु धान दिवसमा पाल्नुहुने प्रमुख अतिथीलाई धानको बिऊको माला बनाउनका लागिबिऊ लिन आएका रहेछन बिउको जरामा रहेको पानी ओभाउनका लागि धानको बिउ आलिमा राखेको रहेछ । यो कुरा सुनेपछि बाजे सहित सबै बिउ उखेल्ने खेतालाहरु अचम्ममा पर्नुभयो । बाजे तिनपुस्ते कृषक, खेतसम्म हिँडेर पुग्न सक्ने भएदेखि नै उहाँले खेतबारीको काम गर्दै आउनुभएको हो तर धानको बिऊको माला लगाउने प्रयोजन उहाँलाई आजसम्म थाहा थिएन र यो काम चित्त समेत बुझेन ।

बाजेले यसरी रोप्न लागेको धानको बिऊ नाश गर्न नहुने र  यस्तो कार्य समग्र कृषकहरुकालागि मान्य नहुने समेत आग्रह गर्नुभयो, ति युवकहरुले धान दिवसमा पान्नुहुने प्रमुख अतिथी तथा अन्य अतिथीको सत्कारका लागिधानको बिऊको माला अनिवार्य रहेको र प्रमुख प्रशासकीय अधिकृतले धानको बिऊको माला बन्दोवस्त गर्ने जिम्मेवारी आफुलाई दिएकाले सोही अनुसार धानको बिऊ लिन आएको कुरा बताए । धानको बिऊको माला प्रबन्ध गर्न नसके आफ्नो कार्यसम्पादन प्रति प्रश्न रहने तथा धानको बिऊको माला उपलब्ध नभए धान दिवसको कार्यक्रमलाई समेत असर पर्न सक्ने कुरा समेत बताए । आफ्नो बर्षभरिको आम्दानिको स्रोत, जिविकोपार्जनको माध्यम त्यो पनि ढिला भईसकेको अवस्थामा अझ धान दिवसको कार्यक्रमलाई नै असर पर्न सक्ने बताएपछि बाजेले केही भन्न सक्नुभएन मनमा भने धान दिवस प्रति नैरास्यता पैदा भयो ।

पाँचदिन रोपाईँ गरिने छेऊघरे बाजेको खेत एकै दिन रोपाई हुँदैछ । बाजे रोपाईँकालागिबिहान सबेरै खेत जानुभयो बिऊ व्यवस्थापन गर्ने युवकहरु लाई उपर्युक्त स्थानमा धानको बिऊ पुर्‍याउन लगाउनुभयो। बाजेको मनमा एकातिर धानदिवसको रौनकता थियो भने अर्कोतिर रोपाईँको चिन्ता पनि । बिहानको १० बज्यो खेतमा कोहिपनि नदेख्दा बाजेको मनको एक कुनामा धान दिवसको कार्यक्रम प्रति शङ्काले बिजारोपण गर्न थाल्यो ।

करिव ११ बजेतिर एउटा सेतो गाडि बाजेको खेतको सिरानमा रोकियो लाग्यो पक्कैपनि हिजोको धानको बिउको माला लगाएर सत्कार गर्नु पर्ने प्रमुख अतिथी हुनुपर्छ  तर गाडी बाट ओर्लदा त गाडिमा त नौमती बाजाको बाध्यवादन टोली र एउटा ठुलो आवाजमा गित गुञ्जिरहेको बाकस रहेछ । त्यो सँगै बाजेको खेतमा करिव पच्चिस हल गोरु, सय जना जति मानिस नौमति सुमधुर ध्वनि तथा ठुलो आवाजमा “धानै खायो धान चरिले मकै खायो घुनले, यो ज्यान सँग जान्छ्यौ भने सजाइ दिउला सुनले” गितको भाका गुञ्जिन थाल्यो । मोटरवाटो बाटपुरुषहरु चिटिक्क परेको दौरा सुरुवाल, ढाका टोपि, जुत्ता तथा महिलाहरु सारी, चोली त कोहि लेहेङ्गामा सहिएर पुरै खेत मग्मगाउने गरी अत्तरको वासना चलाउँदै खेतको आली आली खेतको पुच्छार तर्फ झर्न थाले ।

खेतको रौनकता अर्कै थियो । नौमती बाजा सहित गित गुञ्जिरहेको थियो, आगन्तुकहरुको पहिरनले खेतको दृष्य चम्किरहेको थियो तर छेउघरे बाजेको नजर भने ति नयाँ जुत्ताको तलुवाको छाप सहित थेप्चिरहेका खेतका आलीमै थियो । समय करिब दिनको बाह्र बज्न लागेको थियो अब रोपाईँ सुरुहोला भन्ने लागेको थियो बाजेलाई तर होईन रहेछ  धान दिवस उद्घाटन गर्ने प्रमुख अतिथि त आई पुग्नै भएको रहेनछ केहि समय पछि एउटा सेतो गाडी खेतको सिरानमा रोकियो त्यहाँबाट प्रमुख अतिथी खेतको पुछार सम्म पुग्नुभयो र उहाँलाई धानको बिऊको माला लगाएर धान दिवसको कार्यक्रम विधिवत रुपमा उद्घाटन गरी प्रमुख अतिथी फर्कनुभयो ।

 “धानै खायो धान चरिले मकै खायो घुनले, यो ज्यान सँग जान्छ्यौ भने सजाइ दिउला सुनले” गितको भाका अनि  नौमति सुमधुर ध्वनिले बेँसि गुञ्यमान छ, अत्तरको वासनालाई  विस्तारै हिलोको गन्धले  जित्दै छ, छेऊ घरे बाजेलाई नौमतिको भाका, गुञ्जयमान सुमधुर गितको आनन्द भन्दा  पनि धान रोपाईको चिन्ता धेरै छ । धान कतै आवश्यकता भन्दा बाक्लो रोपियो, कतै आवश्तकता भन्दा पातलो रोपियो, कतै एक छेउमा मात्र पानि जम्ने गहिरो भयो कुनै आँठोमा पानि आउने ठाउँ नै रहेन कुनैमा पानि बाहिरिने ठाउँ रहेन, रोपाहार हरुको ध्यान धान रोपाईमा भन्दा  “धानै खायो धान चरिले मकै खायो घुनले, यो ज्यान सँग जान्छ्यौ भने सजाइ दिउला सुनले” गितको भाकाले तान्यो, बाउसे र हलिहरुको ध्यान माटोको अवस्था र उचाईले भन्दा रोपाहारहरुको सुन्दरता अनि नृत्यले तान्यो ।

रोपाईँ सकिन लागेको थियो, सिरानका केहि फोक्टाहरुमा मात्र धान रोप्न बाँकि थियो । एउटा प्रस्ताव आयो प्रमुख अतिथिले धानको बिऊको माला लगाएर धान दिवस कार्यक्रमको उद्धघाटन गर्नुभयो अब उपाध्यक्ष ज्युले अन्तिमको एउटा गह्रामा एक्लै धानरोपेर कार्यक्रम समापन गर्नुपर्छ । सोही अनुरुप उपाध्यक्ष ज्युले एक्लै धान रोपेर कार्यक्रम समापन गर्ने कुरामा सहमति भयो यसरी धान रोपेको श्रव्य दृष्य सामाग्रीले स्थानीय सरकारले निर्माण गर्ने ऐतिहासिक श्रव्य दृष्य सामाग्री महत्व पुर्ण स्थान पाउने भएकाले छविकारहरुलाई पनि विशेष प्राथमिकताका साथ श्रव्य दृष्य सामाग्री निर्माणको निर्देशन दिइयो ।

“ हरियो डाँडा माथि, हलो जोत्ने साथी” गितको भाका गुञ्जियो, नौमति बाजा बज्यो, तालीले सबै सारा बेँसी थर्कियो, सुरु भयो धान दिवस समापन कार्यक्रम । अघि नै बाउसेहरुले गह्राको बिचमा खाल्डो खनेका रहेछन धान रोप्दै जाने क्रममा  खाल्डोमा  चिप्लिएर रोपाहार भिजुन भन्ने गलत मानसिकता वा रमाइलोको लागि। कार्यक्रम समापनको प्रस्तावले यसरी खाल्डोमा चिप्लिएर लड्ने अनि भिज्ने प्रपञ्चको शिकार उपाध्यक्ष ज्यु हुनुभयो, उहाँ चिप्लिएर खाल्डोमा पस्दा सबै ताली रोकिएर हाँसो फैलियो तर दृष्य खिच्ने छविकारहरु भने तैनाथ नै थिए ।

यो धान दिवस समापन कार्यक्रमको श्रव्य दृष्य सामाग्री स्थानीय सरकारले निर्माण गर्ने ऐतिहासिक श्रव्य दृष्य सामाग्री समावेश भयो वा भएन यो भने छेउघरे काकालाई जानकारी छैन । धान दिवस सकियो बाध्यवादक, छविकार चित्रकार, रोपाहार, बाउसे, हलि सबै आ-आफ्नो गन्तव्य तर्फ लागे । छेउघरे काका थेप्चिएका आलीहरु, डुवेका धानका गावाहरु, पानि सुकेका आँठाहरु नियाल्दै आफ्नो खेत डुल्दै हुनुहुन्छ र अब पनि डुलिरहनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस