वर्षासँगै आएको बाढीले खारखोलाको पुलमा क्षति , बालबालिकालाई विद्यालय जान समस्या « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वर्षासँगै आएको बाढीले खारखोलाको पुलमा क्षति , बालबालिकालाई विद्यालय जान समस्या


१२ असार २०७९, आइतबार


गोरखा । आज (आइतबार) बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ ।

पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ ।

पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने अवस्था छैन ।’

उनका अनुसार सो पुल हुँदै धर्मोदय माध्यमिक विद्यालयमा अध्ययनरत करिब १०० भन्दा बढी विद्यार्थी आउजाउ गर्ने गर्छन् । पारिडिहिका स्थानीयलाई बिर्दि बजार आउन पनि सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

पुलमा क्षति पुगेर आवतजावत रोकिँदा स्थानीय समस्यामा परेका छन् । बेलैमा तारजालीको व्यवस्था गरेर कटान क्षेत्रलाई संरक्षण गर्न सके पुल जोगिन सक्ने स्थानीयले बताएका छन् ।

पुलको स्थलगत निरीक्षण गरेर मर्मत तथा संरक्षणका लागि आवश्यक पहल गर्ने वडाध्यक्ष भेजराज पाण्डेले बताए ।

आफ्नै पहलमा चार वर्ष अघि गोरखा नगरपालिका र वडाको गरी करिब ३५ लाख बजेट खर्चेर सो पुल निर्माण गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस