एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौँ, एसपीपी हामीले नै रोक्यौँ : प्रचण्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौँ, एसपीपी हामीले नै रोक्यौँ : प्रचण्ड


९ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठुलो दुर्घटना टारिएको उनले बताए ।

आज (बिहीबार) ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए ।

उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघात गर्‍यौँ । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाएर ठुलो दुर्घटना टार्‍यौँ ।’

एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानुनको अङ्ग बनेको उनले बताए ।

एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।

प्रचण्डले भने, ‘मैले पेरिसडाँडामा यो कुराको खुलासा गर्नासाथ केपी ओलीगुटका एक जना मान्छेले सदनमा एमालेले सम्झौता गरेको प्रमाणित गर्न चुनौती दिए । त्यसको ३-४ घण्टापछि त सम्झौताको कपी नै बाहिर आयो । अहिले त्यसबेला हामीलाई थाहै थिएन भनेर जनतालाई उल्लु बनाउन खोज्दै छन् ।’

एसपीपीका विषयमा सबैभन्दा पहिले आफूले नै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएको पनि प्रचण्डको अर्को दाबी थियो ।

‘मैले प्रधानमन्त्रीज्यू एसपीपी सैन्य सम्झौता नै हो, यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’ प्रचण्डले भने, ‘अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस