सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुँदै


४ असार २०७९, शनिबार


काठमाडौँ । प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलोपटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन हुने भएको छ ।

‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ ।

हाफ म्याराथनसँगै विद्यालयस्तरको ५ किलोमिटर छात्र-छात्रा दौड पनि हुँदै छ । आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मीड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रमजंग थापाले बताए ।

हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाको दाबी थियो ।

म्याराथन सुर्खेतको वीरेन्द्र चोकबाट सुरु हुनेछ । वीरेन्द्र चोकबाट बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदै फर्किएर वधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँदै पुन वीरेन्द्र चोकमा आएर समापन हुनेछ ।

हाफ म्याराथनको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौँले १० हजार रुपैयाँ पाउनेछन् । ५ किलोमिटर विद्यालय छात्र-छात्राका विजेताले समान १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस