प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा तत्काल हस्ताक्षर नगर्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा तत्काल हस्ताक्षर नगर्ने


१ असार २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् ।

देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो । एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि वामपन्थी दलहरुले त्यसको विरोध गर्दै आएका छन् ।

सञ्चारमाध्यममा सम्झौताको मस्यौदा सार्वजनिक भएपछि सम्झौता तत्काल गर्न नहुने भन्दै सत्ता गठबन्धनका काँग्रेसबाहेकका दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत विरोध जनाएपछि प्रधानमन्त्री देउवा एसपीपी सम्झौता तत्काल नगर्ने मनस्थितिमा पुगेका हुन् ।

‘हिजो (मंगलबार) प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बीचमा यसबारेमा लामो छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो, ‘एसपीपी अघि बढाउँदा अहिले गठबन्धनमै अप्ठ्यारो पर्ने निष्कर्ष निस्किएपछि प्रधानमन्त्रीज्यू पछि हट्नुभयो ।’

आज बिहान पनि प्रधानमन्त्री देउवा, प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच यसै विषयमा छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस