बाटो बनेपछि बढेको आत्मविश्वास, पलाएको आशा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाटो बनेपछि बढेको आत्मविश्वास, पलाएको आशा


३१ जेष्ठ २०७९, मंगलबार


स्याङ्जाको पुतली बजार नगरपालिका-३ की देवी सार्कीलाई छोरीहरू विद्यालय पठाउनै डर लाग्थ्यो । स-साना नानीहरू विद्यालय पुग्न हिँड्ने बाटो यति अप्ठेरो थियो कि उनीहरूलाई त्यही बाटो पठाउने हिम्मत बटुल्न देवी जस्तै आमाबुबालाई कठिन पर्थ्यो । विद्यालय गएका छोरीहरू फर्केर नआउँदासम्म देवी चिन्ताले छटपटिइरहन्थिन् । ‘अरू डर त होइन, हरिटिका (विद्यालय भएको ठाउँ) जाने बाटो साह्रै अप्ठेरो थियो, नानीहरू लड्लान् कि चिन्ता भइरहन्थ्यो,’ देवीले सुनाइन् ।

अहिले देवीको त्यो चिन्ता हटेको छ । किनभने त्यो बाटो सजिलो मात्र बनेको छैन, पक्की नै भइसकेको छ । हिजोआज छोरीहरूलाई विद्यालय पठाउन उनलाई डर लाग्दैन । दुई छोरीलाई उनी ढुक्कसाथ विद्यालय पठाउँछिन्, उनीहरू फर्केर नआउँदासम्म छटपटिएर बस्नु पनि पर्दैन । देवी भन्छिन्, ‘केटाकेटी स्कुल जान अब धेरै सजिलो भयो । ढुक्कसाथ उनीहरूलाई स्कुल पठाउँछौँ । अरू मान्छेलाई पनि हिँडडुल गर्न सजिलो भयो ।’

यो बाटो बनेपछि देवीको अर्को चिन्ता पनि हटेको छ । त्यो चिन्ता हो, घर खर्चको । किनभने यो बाटो निर्माणमा उनी आफै पनि सहभागी थिइन् । भन्छिन्, ‘बाटो बनाउँदा काम गरेर आएको पैसाले घर खर्च चलाउन धेरै सजिलो भो ।’

काजीमान हरिटिका उच्च माध्यमिक विद्यालय जाने यो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पक्की बनेको हो । त्यो बाटो निर्माणमा देवीले पनि १०० दिनसम्म काम गर्ने अवसर पाएकी थिइन् । देवीको आफ्नै कथा पीडादायी छ ।

२१ वर्षको उमेरमै श्रीमान् गुमाएपछि उनका अगाडि समस्याका पहाड मात्रै खडा भएका थिए । ‘कान्छी छोरी पेटमै थिई, म तीन महिनाको गर्भवती थिएँ । त्यही बेला श्रीमान् बित्नु भो,’ देवी भन्छिन्, ‘घर खर्च चलाउने उपाय थिएन, त्यसमाथि एकल महिला । दुःख कष्ट त कति भयो कति । अहिले (प्रधानमन्त्री रोजगार कार्यक्रमले) धेरै राहत मिलेको छ ।’

हरिटिका उच्च माध्यमिक विद्यालय जाने बाटो निर्माणमा काम गर्दा प्राप्त रकमबाट उनलाई घर खर्च चलाउन र छोरीहरूलाई पढाउन पनि मद्दत पुगेको छ ।

खासमा पुतली बजार नगरपालिकामा देवी जस्ता धेरै एकल र विपन्न महिलाले यो अनुभूति गर्न पाएका छन् । वडा नम्बर ९ का वडाध्यक्ष लिलप्रसाद गुरुङले भने, ‘मेरो वडामा पनि धेरै विपन्न परिवार छन् । उनीहरूले पाएको कामले धेरै राहत मिलेको छ ।’
नगरपालिकाकै विकट मानिने आफ्नो वडाका धेरै सूचीकृत बेरोजगारले कार्यक्रमअन्तर्गत आम्दानी गर्ने काम पाएको गुरुङले बताए । ‘हिँड्न नमिल्ने बाटाहरू मर्मत भएका छन् । बाटो छेउछाउ सरसफाइ भएको छ,’ उनले भने, ‘सय दिनको रोजगारीले छोराछोरीको पढाई खर्च, पानी बिजुलीको महसुल बुझाउन धेरैलाई सहयोग पुगेको छ ।’ चालु आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय अदक्ष ज्याला दरको ८० प्रतिशत वा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दर रु ५७७ अनुसार रोजगारी पाउने व्यक्तिले पारिश्रमिक पाउने छ ।

८१० जनालाई रोजगारी
पुतली बजार नगरपालिकामा एउटा होइन, धेरै ठाउँमा यस्ता गोरेटो बाटो निर्माण भए । केही पहिले भएकै तर, हिँड्न मिल्ने हालतमा नरहेका बाटाहरू मर्मत सम्भार गरिए । चालु आर्थिक वर्ष २०७८/७९ मा कूल मिलाएर नगरपालिकाभित्र यस्ता ४७ वटा योजनामा काम भए । गोरेटो बाटो निर्माण र मर्मत सम्भार प्राथमिकतामा पर्दा स्थानीय बेरोजगार र विपन्नहरूले पनि राम्रो ज्यालामा काम गर्ने अवसर पाए । तिनैमध्ये एक लक्ष्मण नेपाली भन्छन्, ‘बाटो निर्माण र मर्मत गर्दा एक त आफै गाउँको विकासमा सहभागी हुन पायौँ । अर्को, हाम्रै बाटो राम्रो बन्यो, त्यो काम गरेबापत कमाई पनि भयो । हामी धेरै खुसी छौँ ।’

कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माण तथा मर्मत सम्भारसँगै नाली निर्माण, पानी ट्याङ्की निर्माण, सिँचाई कुलो निर्माण, पार्क र मन्दिर सरसफाइ लगायतका काम पनि भएका छन् । पुतली बजार नगरपालिकाको रोजगार सेवा केन्द्रकी रोजगार संयोजक लक्ष्मी शर्माका अनुसार यसबाट धार्मिक एवं पर्यटकीय स्थलहरूमा आवतजावत सहज भएको छ, ती ठाउँ सुन्दर पनि बनेका छन् ।

नगरपालिकाको गल्छिना डाँडामा निर्माण गरिएको गोरेटो बाटोले त्यहाँको वडा कार्यालय पनि जोड्छ । यो त्यही योजना हो जसमा सहभागी सबै श्रमिक महिला थिए । गाउँका विपन्न र बेरोजगार महिलाले काम पाएको यो योजनाले महिलाको आत्मविश्वास पनि बढाएको छ । ‘ढुङ्गा बोक्ने, सिमेन्ट मुछ्ने, सोलिङ गर्ने सबै काम हामीले ग¥यौँ’, यो योजनामा काम गरेकी पूजा अधिकारीले भनिन्, ‘त्यसरी दुःख गरेर कमाएको पैसा खर्च गर्न मन नलाग्ने रहेछ । तर, खर्च नगरौँ भन्दा घर खर्च चल्दैन ।

त्यसबाटै छोराछोरीलाई कापी, कलम, खाजा, भुजा किन्न, फी तिर्न सजिलो भएको छ । आफूले कमाएपछि मात्र पसिना बगाएर प्राप्त गरेको कमाई कति प्यारो हुँदो रहेछ भन्ने थाहा हुँदो रहेछ ।’

अर्को वर्ष सञ्चालन हुने योजनाका लागि पनि काम पाइयोस् भनेर अहिल्यै आवेदन दिइसकेको गीताले सुनाइन् ।

यो कार्यक्रम अन्तर्गत पुतली बजारमा ८१० जना बेरोजगारले काम गर्ने अवसर पाएका छन् । नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४४९ जना बेरोजगार दर्ता भएकोमा १०१ जनाले रोजगारी पाए । त्यस्तै, २०७६/७७ मा ८५६ जना बेरोजगार दर्ता भएकोमा २४० जनालाई रोजगारी प्रदान गरिएको छ । २०७७/७८ मा १ हजार २१० जना बेरोजगार दर्ता भएकोमा ३३४ जनाले र २०७८/७९ मा ८२५ जना बेरोजगार दर्ता भएकोमा वैशाख महिनासम्म १३५ जनाले रोजगारी पाएको पुतली बजार नगरपालिकाका प्राविधिक आनन्द मरासिनीले बताए ।

कृषिसँग जोड्न माग
रोजगार कार्यक्रमबाट स्थानीय विपन्न र बेरोजगारहरू खुसी छन् । रोचक त के छ भने स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिहरू चाहिँ अहिलेसम्म पनि यसबारे स्पष्ट हुन सकिरहेका छैनन् । जनप्रतिनिधिले कार्यक्रमलाई आफूअनुकुल बनाउन खोजे जस्तो देखिएको पुतली बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती बताउँछन् ।

हुन पनि जनप्रतिनिधिहरू नै प्रस्ट नहुँदा कतिपय कामले ठोस नतिजा दिन सकिरहेका छैनन् । कतिपय श्रमिकले नै यसबारे नबुझ्दा कार्यक्रममा समेटिन नसक्ने वा अरूतिर जाने समस्या छ । जबकि ठुला उद्योगधन्दा खुल्न नसक्ने विकट गाउँमा यस खालका कार्यक्रमको महत्त्व ठुलो छ ।

‘गाउँमा ठुलो उद्योगधन्दा केही छैन । ठुलो बजेट आउने र रोजगारी सिर्जना हुने कुनै योजना छैन,’ वडा नम्बर ९ का वडाध्यक्ष लिल प्रसाद गुरुङले भने, ‘अदक्ष बेरोजगार जनशक्तिका लागि त यस्तै कार्यक्रम चाहिने हो । धेरैको माग छ, कम्तीमा ६ महिना काम पाए राम्रो हुन्थ्यो ।’

पुतली बजार नगरपालिकामा सङ्घीय सरकारको बजेट मात्र नकुरी स्थानीय स्तरको साझेदारीमा समेत धेरै योजना सञ्चालन गरिएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार सिँढी बनाउने, सडक बनाउने, स्थानीय स्तरमा सरसफाइ गर्नेलगायत काम स्थानीय रूपमा सञ्चालन भएका छन् । त्यसबाट पनि स्थानीयलाई रोजगारी मिलेको उनको भनाई छ ।

रोजगार कार्यक्रमलाई कृषिसँग जोडेर अगाडि बढाउन सकेमा त्यसले स्वरोजगारको अवसर सिर्जना गर्ने घर्तीले बताए । ‘बाँझो जमिन खनजोत गर्ने र कृषि उत्पादन वृद्धि गर्नेतर्फ नगरपालिकाले सोच बनाइरहेको छ । यसले बेरोजगारीको दिगो समाधान हुने आशा छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस