देवनागरी लिपि मास्ने कार्य असंवैधानिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देवनागरी लिपि मास्ने कार्य असंवैधानिक


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ। राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन्।

उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण गराइन्। उनले दण्डहीनताको अभावमा महिला हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् ।

राष्ट्रियसभा सदस्य कमला पन्तले मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्ने बताइन् । कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्नेमा उनले जोड दिइन् ।

उनले विसं २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताइन् ।

अर्का सदस्य सुमित्राकुमारी बिसीले नागरिकता अभावमा अवसरबाट वञ्चित भएकालाई व्यवस्थित गर्न नागरिकता विधेयक ल्याउनुपर्ने बताइन् ।

उनले कर्णाली प्रदेशमा शैक्षिक सामग्री पुग्न नसकेकाले पठनपाठनमा असजिलो भएको बताउँदै सम्बन्धित पक्षलाई संवेदनशील बन्न सुझाव दिइन् ।

किसानलाई मल र बीउको अभाव भएको, चैतेधान बालीको बजार भाउ ढुटोभन्दा कम भएकाले समायोजन हुनुपर्नेमा जोड दिँदै उनले त्रिशूलीलगायत नदी आसपासका अव्यवस्थित बस्तीले नदी प्रदूषित भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

अर्का सदस्य नरबहादुर विष्टले अपरकर्णाली परियोजनाको कार्य निर्धारित समयमा पूरा नगर्ने जिआरएम कम्पनीको इजाजत खारेज गर्नुपर्ने विचार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस