पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड अवरुद्ध


२६ जेष्ठ २०७९, बिहिबार


बलेवा । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए ।

बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् भने गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छन् ।

काठमाडौँ–पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढीपहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

त्यस्तै बाढी र पहिराका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए।

बुधबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको उनले बताए ।

बाढीले महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उनले बताए । रातभर स्थानीयवासी र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस