पब्जी खेल्न नदिएको झोँकमा छोराले गरे आमाको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पब्जी खेल्न नदिएको झोँकमा छोराले गरे आमाको हत्या


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।

१६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोँकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बङ्गालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाससहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

मंगलबार भने ती किशोर आफैँले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्ट्रिसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस