बेच्न थालियो करिब १७८ मेगावाट बिजुली भारतलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेच्न थालियो करिब १७८ मेगावाट बिजुली भारतलाई


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको थियो ।

नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत वर्ष कात्तिकमा अनुमति पाएको थियो । गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङ्दी, मध्यमर्स्याङदी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली खरिद गर्ने सहमति दिएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए । नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरू तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।

केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो । वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस