बागमती र गण्डकीका सवारीमा साउन १ पछि इम्बोस्ड नम्बर अनिवार्य, आलटाल गरे कारबाहीको चेतावनी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती र गण्डकीका सवारीमा साउन १ पछि इम्बोस्ड नम्बर अनिवार्य, आलटाल गरे कारबाहीको चेतावनी 


२२ जेष्ठ २०७९, आइतबार



काठमाडौँ : यातायात व्यवस्था विभागले सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने भएको छ। सवारी धनीले सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेपछि विभागले एक सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो।

विभागद्वारा जारी सार्वजनिक सूचनामा साउन १ गते भित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ। त्यसपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने विभागले जनाएको छ।

बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय, गुर्जुधारा, काठमाडौँ तथा गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय, कास्की र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारी धनीलाई विभागले नियमानुसार साना ठूला सवारीहरूमा अबिलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन जानकारी गराएको छ।

यसअघि विभागले प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरूमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रूपमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानका लागि २०७८ कार्तिक २२ गते राजपत्रमा सूचना प्रकाशन गरेको थियो।

नम्बर प्लेट जडान सम्बन्धी सङ्घीय कानून बमोजिम व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विभागले कडाइ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस